५ चैत, काठमाण्डौ ।
अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसममा गडबडी रहने मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन् ।
मौसमविद् मानन्धरका अनुशार आज देशैभर आशिंकदेखि सामान्य बदलीको अवस्था छ । पश्चिमको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा वर्षा भइरहेको छ भने पूर्वको कोशी, मधेस र वाग्मती प्रदेशको थोरै स्थानमा वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा आज राति पनि वर्षा हुने सम्भावना रहेको उनले बताइन् । ‘देशैभर हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । काठमाडौंमा एक घण्टाजति वर्षा रोकिएपनि फेरि राति वर्षा हुने सम्भावना रहेको उनले बताएकी छन् ।
उनका अनुशार पानी परेपछि फेरि नयाँ बादल बन्ने र पानी पर्ने प्रकृया चलिरहेको छ । अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मानन्धरले देशका विभिन्न ठाउँहरुमा भोलि र पर्सि पनि बदली र वर्षा हुने सम्भावना रहेको बताइन् ।
मानन्धरका अनुशार देशैभरको लागि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बिहानभन्दा १२ बजेपछि वर्षाको सम्भावना बढ्दै बढ्दै गएको छ । आज देशका पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन, चट्याङ्ग र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।