Nepal Times
Nepal Times
3
Shares

कासेमिरो ब्राजिलको नयाँ कप्तान

कासेमिरो ब्राजिलको नयाँ कप्तान

११ चैत, एजेन्सी ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो ब्राजिलको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले आगामी मैत्रीपूर्ण खेलका लागि क्यासमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।

ब्राजिलले आइतबार बिहान फिफा विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिड छाड्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका ३१ वर्षीय क्यासमिरोले उच्च प्रदर्शन गरिरहेका छन् ।

विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदासम्म ब्राजिलको कप्तानी सिल्भाले सम्हालेका थिए । सिल्भा चोटका कारण मैदान बाहिर छन् । उनले फिफा विश्वकप कतार २०२२ नै आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

यता जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गर्दै उनको स्थानमा थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बायर्नले मुख्य प्रशिक्षक जुलियन नागेल्समनलाई बर्खास्त गरेको केही समयमै टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

टुचेलले बायर्नसँग दुई वर्षको सम्झौता गरेका छन् । टुचेल सन् २०२५ सम्म बायर्नको मुख्य प्रशिक्षक रहनेछन् । ४९ वर्षीय जर्मन प्रशिक्षक टुचेल गत सेप्टेम्बरमा चेल्सीबाट बर्खास्तीमा परेपछि जागिरविहीन बनेका थिए । टुचेल यसअघि जर्मन बुन्डेसलिगा क्लब अग्सवर्ग, माइन्ज र बोरुसिया डर्टमुण्डकै प्रशिक्षक रहेका थिए ।

टुचेलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सीको पनि प्रशिक्षण सम्हालिसकेका छन् । अन्तर्राष्ट्रिय विश्रामअघि बायर लिभरकुसेनसँग २–१ ले पराजित भएसँगै बायर्नले ३५ वर्षीय युवा प्रशिक्षक जुलियनलाई बर्खास्ती गर्ने निष्कर्षमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय विश्राममा उनी अष्ट्रियामा रहँदा नै बायर्नले उनलाई शुक्रबार बर्खास्त गरेको हो । बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.