Nepal Times
Nepal Times
3
Shares

एमाले र कांग्रेसलाई मिल्न महेशको सुझाव

एमाले र कांग्रेसलाई मिल्न महेशको सुझाव

१२ चैत, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन तयारीलाई तिव्रता दिदैं सोमबारसम्ममा सरकार विस्तार गर्ने बताइरहदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रचण्डले सरकारलाई पूर्णता दिनै नसकेको आरोप लगाएको छ । प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको एमालेका उपाध्यक्ष विष्णु पौडेलले आरोप लगाएका छन् ।

सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले विश्वासको मत दिएको धेरै दिन भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताए । ‘प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत त पाउनुभयो तर आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन,’ उनले भने, ‘हामी सुन्दैछौं– ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । यति सिट, उति सिटका दाबी भनेर आइरहेका छन्।’

गत चैत ६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए ।पौडेलले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताएका छन् । ‘सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन । पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ । जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं।’

गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री अर्को गठबन्धनमा गएको उनले बताए । ‘हामीलाई उहाँले धोका दिएर जानुभयो,’ उनले भने, ‘यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन । यो सरकारले समृद्धि पनि दिन सक्दैन ।’ उनले अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अबान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत लगाएका छन् ।

यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीले पनि १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने गरी काम गरिरहेको आरोप लगाएका थिए । शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा ।

त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,’ । यसैबीच एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले कांग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने बारेमा औपचारिक कुराकानी नभए पनि कांग्रेस र एमालेभित्र मिलेर जानु पर्छ भन्ने मत बाक्लो रहेको जिकिर गरे । 

बस्नेतले कांग्रेस र एमाले मिल्दा प्रचण्डको च्याखे दाउ सकिने बताए । पोलिटब्यूरो सदस्य बस्नेतले अस्थिर चरित्रको नायक प्रचण्ड रहेको, च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोपसमेत लगाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.