Nepal Times
Nepal Times
3
Shares

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी

१२ चैत , काठमाण्डौ ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै ९ राजनीतिक दलले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन् । एमाले र राप्रपाबाहेक ९ दलको समर्थनमा चौधरीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको परिवर्तन संगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनमा दलहरु सक्रिय भएका हुन् । एमाले नेतृत्व सरकारमा रहेका माओवादी, जनमत र जनता समाजवादी पार्टी बाहिरिएसँगै सरकारलाई समर्थन दिएका दलहरुले समेत समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

आठ राजनीतिक दल र एक स्वतन्त्र प्रदेश सभा सदस्यको तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ मुख्यमन्त्री नियुक्तीको लागि आइतबार प्रस्ताव पेश गरिएको छ । प्रदेश प्रमुख शेरचनले प्रक्रियागत रुपमा अघि बढ्ने जानकारी दिएका छन् । यस अघि एमालेका लिला गिरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी सरकारबाट बाहिरिए पनि एमालेका लीला गिरी मुख्यमन्त्रीको कुर्सीमै छन् । उनले राजीनामा दिने वा सदनमा विश्वासको मतका लागि प्रयास गर्ने संवैधानिक विकल्प हुँदाहुँदै चौधरीले मुख्यमन्त्री दाबी गरेर दबाब बढाएका छन् ।

संवैधानिक व्यवस्था अुनसार गिरीले एक महिनाभित्र प्रदेशसभा समक्ष विश्वास लिन पाउनेछन् । उता शुक्रवार मात्र नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छोडेको छ । शुक्रवार गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीले राजीनामा दिएका थिए ।

गण्डकीमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री र तथा सांसद रेसमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए । दुवैले राजीनामा दिएपछि एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । अल्पमतमा परेपछि काँग्रेस उनको राजीनामा मागेको छ ।

यता कोशी प्रदेशमा भने माओवादीले तत्काल सरकार नछोड्ने बताउँदै आएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रवार पत्रकार सम्मेलन गरी कोशी प्रदेशमा तत्काल सत्ताको समीकरण फेरिने अवस्था नरहेको भन्दै सरकार नछोड्ने निर्णय सार्वजनिक गरेका हुन् । कोशीमा माओवादीले समर्थन फिर्ता लिएपनि राप्रपाको साथ विना अहिलेको नयाँ गठबन्धनको सरकार नबन्ने अवस्था रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.