१३ चैत ,विराटनगर ।
विराटनगरस्थित सहिद मैदानमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । आज पहिलो सेमिफाइनलमा घरेलु टिम विराटनगर सिटीले जावलाखेल युथ क्लबको सामना गर्नेछ । भने भोलि पाहुना टोली भारत केरलाको लुका सकर क्लबले फाइनल प्रवेशका लागि साविक बिजेता एपीएफसँग सेमिफाइनल खेल्नेछ ।
यसअघि आइतबार राति भएको खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा ८–७ गोलले हराउँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुगेको थियो ।
टाइब्रेकरमा संकटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए । पूर्व बिजेता संकटा र पहिलो पटक विराटगोल्डकपमा सहभागी भारतीय क्लवले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म खेल बराबरी भयो ।
संकटाले २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता संकटाले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो । खेलको म्यान अफ द म्याच भारतको गोलकिपर महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।