१७ चैत, एजेन्सी ।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टोली आज लाओसविरुद्ध अपराजित यात्रा कायम राख्दै उपाधि जित्न चाहन्छ ।
जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । घरेलु मैदानमा खेल्न लागेकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ । यद्यपि राम्रो प्रदर्शन गरिरहेको लाओसविरुद्ध नेपाललाई सहज जित निकाल्न भने कठिन हुनसक्छ । लाओसले अघिल्लो खेलमा मात्र भुटानलाई २–१ ले हराएको थियो ।
जबकि नेपालले भुटानविरुद्ध १–१ को बराबरी खेल्यो । टोलीका महत्वपूर्ण सदस्य अञ्जन विष्ट र पुजन उपरकोटी फाइनल गुमाउने भएपछि नेपाल केही समस्यामा छ । अञ्जन चोट र पुजन दोहोरो पहेँलो कार्डका कारण फाइनल गुमाउने भएका हुन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेता टोलीले ३ हजार डलर पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । लाओसविरुद्ध नेपालले हालसम्म तीन खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले लाओसविरुद्ध हारको सामना गरेको छैन । नेपालले सन् २०१६ मा पहिलोपटक लाओसको सामना गरेको थियो । १६ मे २०१६ मा नेपालले लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो ।
जसमा नेपालले लाओससँग १–१ खेल्यो । नेपालले दोस्रोपटक १२ नोभेम्बर २०१६ मा लाओसविरुद्ध खेलेको थियो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा लाओसलाई ३–० ले हराएको थियो । लाओसविरुद्ध नेपालको तेस्रो भेट जारी थ्री नेसन्सकै पहिलो खेलमा भएको थियो । जसमा नेपाल २–० ले विजयी भएको छ ।