Nepal Times
Nepal Times
3
Shares

चितवनमा रविको उम्मेदवारी रोकिन सक्ने

चितवनमा रविको उम्मेदवारी रोकिन सक्ने

१९ चैत, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । रिट दर्ता गर्ने÷नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालतका प्रवक्ता विमल पौडेलले बताएका छन् । आइतबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका हुन् ।

पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । सांसद पदको योग्यतासम्बन्धी मुद्दा भने टुंगिइसकेको छ । यसअघि नै सफलले आफू रविविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वाेच्च जाने बताएका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।

त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । प्रहरीले छानबिनपश्चात् लामिछानेले राहदानी लिएको भए पनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो । सोही रायलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।

यस्तै संविधानतः नागरिकता लिएको तीन महिना पूरा नभइ नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य नठहरिने भन्दै रविको उम्मेदवारी रोकिन सक्ने संविधानविद्ले बताएका छन् । संविधानविद् खिमलाल देवकोटाले संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तिमा तीन महिना व्यतित नभइकन योग्य नहुने व्यवस्था गरेको बताएका छन् ।

उनका अनुशार रास्वपा सभापति लामिछानेले नागरिकता लिएको मितिले मनोनयन दर्ताको दिनसम्मको समय ६५ दिन मात्रै पुग्छ । उनलाई अझै उम्मेदवार बन्न योग्य ठहरिनका लागि २५ दिन अपुग हुन्छ । किनभने चैत्र २० गते उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको छ । उपनिर्वाचन आगामी वर्षको वैशाख १० गते हुँदैछ ।

राहदानी प्रकरणबाट मुक्तिपाएपछि रवि फेरि मंसिरमा शानदार जित हासिल गरेको चितवन २ को उपचुनावमा होमिएका छन् । हिजो शनिबार औपचारिक निर्णय गरेका रवि आजैदेखि चितवनका मतदातामाझ पुगिसकेका छन् । भर्खरै मात्र रास्वपामा प्रवेश गरेर तनहँुमा उम्मेदवारी दिने तयारीमा रहेका स्वर्णिम वाग्ले पनि रविसँगै चितवन पुगेका छन् । चितवन स्वर्णिमको गृहनगर हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.