२२ वैशाख, काठमाण्डौ ।
संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताएका छन् । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ,’ कार्कीले बताएका छन् ।
उता सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ्दी भोटेले बताएका छन् । दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ। सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो ।
त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो । उक्त हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो । आज सामान ओसारपसार गर्ने क्रममा देउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो । हेलिकोप्टरमा सामानबाहेक चालक मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।