Nepal Times
Nepal Times
3
Shares

आरजु र मञ्जुको भाइरल अडियोले तहल्का मच्चियो

आरजु र मञ्जुको भाइरल अडियोले तहल्का मच्चियो

२५ वैशाख, काठमाण्डौ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा निकै आक्रोशितरुपमा प्रस्तुत भइन् । उनले आफूलाई नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडेर कुप्रचार गरिएको भन्दै आपत्ति जनाइन् । यो प्रकरणमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको मात्रै बताइनन्, उनले यसलाई ‘लैंगिक विभेद’ को रुप नै दिइन् ।

महिलाले आफ्नो हैसियतमा राजनीति गर्दा पुरुषहरुलाई असैह्य भएर उनीमाथि यस्ता आरोप लगाइएको उनको आशय थियो । आफ्नो श्रीमान ५–६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको राणाले बताइन् । उनले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि चुनौति दिइन् ।

उनले भनिन्, ‘मैले केही बिराएको छैन, डराउँदिनँ।’ प्रतिनिधि सभामा आरजुले लैंगिक विभेदको भिक्टम कार्ड फ्याक्दै गर्दा उता राष्ट्रियसभा पनि उनको समेत नाम जोडिएर प्रश्नहरु सोधिए । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नक्कली शरणार्थी प्रकरणमा आरजु देउवा राणा र मञ्जु खाँणविरुद्ध पक्राउ पूर्जी किन जारी नभएको भन्दै प्रश्न गरे ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरूको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो भनेर हल्ला पनि छ । फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे । यसमा आरजु देउवाले अढाई करोड र बालकृष्ण खाणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ ।

उनीहरूलाई सरकारले पक्राउ पुर्जी त जारी गरेको भन्ने सुनेको छैन ?’ भन्दै प्रश्न गरे । काँग्रेस सांसद आरजु राणाले आफ्नो खण्डन गर्दै गर्दा र उनीमाथि संसदमै प्रश्नहरु सोधिदै गर्दा यता सामाजिक संजाल भरी आरजु र काँग्रेस नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले नक्कली शरणार्थी प्रकरणमै करोडौ रकम लिएको अडियो रेकर्ड भाइरल भइरहेका छन् ।

केही दिनयता सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको एउटा अडिओ संवादमा पीडित भनिएकाहरुले बालकृष्णको नाम पनि मुछेका छन् । यसअघि नै पक्राउ परेकाहरुले बालकृष्ण र पत्नी मञ्जुको नाम मुछेको समाचार सार्वजनिक भइरहेका बेला त्यसलाई थप बल पुग्ने गरी अडिओ भाइरल भइरहेको छ ।

कम्तीमा तीनजनाले संवाद गरेको उक्त अडिओको करिब १५ देखि २० मिनेटको पूरा संवाद विवरण अनुसन्धानरत प्रहरीसँग रहेको बताइएको छ । तर त्यसको १ मिनेट ३ सेकेन्डको अडिओ क्लिपमा आरजु राणा र मञ्जु खाँणले करोड–करोड लिएको संवाद सुन्न सकिन्छ । यो अडिओलाई लिएर प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले यसको आधिकारिकता जाँचलाई अनुसन्धानकै एक अंगका रुपमा अघि बढाइएको जनाएको छ । अडिओमा संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने बहानामा करोडौं उठाएको एक समूहबाट आरजु र मञ्जुले साढे आठ करोड रुपैयाँ बुझेको उक्त अडिओमा उल्लेख छ ।

उक्त अडिओमा मञ्जुलाई अनामनगरस्थित हनुमानथान पछाडिको घरमा गएर ६ करोड दिइएको भनिएको छ । तर मञ्जु खाणले भने आफू चार वर्षदेखि चाबहिलमा बस्दै आएको बताएकी छन् । मञ्जुले आफूलाई बदनाम गर्न फेक अडिओ बनाएर सार्वजनिक गरिएको प्रतिक्रिया पनि दिएकी छन् । यसअघि बालकृष्ण खाँणले पनि शनिबार नै सार्वजनिक वक्तव्य निकालेर आफ्नो बचाउ गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.