Nepal Times
Nepal Times
3
Shares

टोपबहादुर नेपालमै लुके कि भारत पसे ?

टोपबहादुर नेपालमै लुके कि भारत पसे ?

२५ वैशाख, काठमाण्डौ ।
शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ । बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर उनको खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत भएका व्यक्ति पाँच दिनदेखि सम्पर्कविहीन छन् । रोचक त के भने सम्पर्कविहीन हुनुअघि सभामुख घिमिरे र उनी एकै कार्यक्रममा थिए । गत बुधवार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सांसद रायमाझीलाई पक्राउ गर्न अनुमति पाएको थियो । अनुमति पाउँदा रायमाझी अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै सार्वजनिक कार्यक्रममा थिए ।

त्यसपछि उनले पक्राउ पूर्जी जारी भएकोबारे आफूलाई कुनै जानकारी नआएको र नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको तथा आवस्यक परे अनुशन्धानमा सघाउँने भन्दै संचारकर्मीहरुमाझ खण्डन पनि गरे । तर त्यसपछि भने उनी लपत्ता छन् । अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् ।

“बुटवलमा अन्तिम लोकेट भएको छ,” प्रहरी अधिकारीले भन्ने,“ त्यसपछि मोबाइल अफ छ । अहिलेसम्म उनी कहाँ छन् भन्ने बारेमा थप जानकारी छैन । उनलाई खोज्नका लागि विशेष प्रहरी परिचालन गरिएको छ ।” प्रहरीका अनुसार रायमाझीको फोन ट्रयाक गर्दा बुटवलमा अन्तिम लोकेशन देखाएको र त्यहीँबाट उनले अफ गरेको पाइएको छ ।

उनका चालक र गाडी सम्पर्कमा रहेको भए पनि रायमाझी बुटवलबाट आफ्नै तरिकाले हिँडेको प्रहरीमा जानकारी गराएको बताइएको छ । कतिपयले भने उनी काठमाडौंमै रहेको र प्रहरीको सम्पर्कमै रहेको दाबी गरेका छन् । रायमाझी आफैँ उपस्थित होलान् भन्ने सबैको अपेक्षा थियो ।

आइतवार उनी अदालतमा हाजिर होलान् भन्दै प्रहरी पनि कुरेर बस्यो । तर, उनी आइतवार अदालतमा हाजिर भएनन् । उनी पाँच दिनदेखि सम्पर्कविहीन छन् उनी । आखिर सांसद रायमाझी कहाँ गए? धेरैको प्रश्न छ । नेपालमा कुनै पनि घटना गएपछि प्रहरी प्रशासनबाट लुक्ने सबैभन्दा सजिलो ठाउँ भारत नै हो ।

खुल्ला सीमानाको कारण सीमापारी जान कठिन छैन । त्यसो त सांसद रायमाझी भैरहवाबाट सम्पर्क बिहीन भएका थिए । भैरहवाबाट सीमा नाका पुग्न केही किलोमिटरको दुरीमात्रै हो । प्रहरी प्रशासनको अनुमान उनी भारत छिरेको भन्ने पनि छ । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.