९ जेठ, एजेनसी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
दुबै टोली जितका साथ सोझै फाइनलमा स्थान बनाउन चाहन्छन् । गुजरात साविक विजेता टोली पनि हो । गुजरात १४ खेलमा २० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा र चेन्नई समान खेलमा १७ अङ्कका साथ दोस्रो स्थानमा छ । समान १४ खेलमा १७ अङ्क नै रहेको लखनउ सुपर जायन्ट्स तेस्रो र १६ अङ्क रहेको मुम्बई चौथो स्थानमा छ ।
आज मैदानमा चेन्नई महेन्द्रसिंह धोनी र गुजरात हार्दिक पान्ड्याको कप्तानीमा उत्रनेछ । आइपिएलका सर्वाधिक सफल कप्तान धोनीको कप्तानी सामु हार्दिकको परीक्षा हुनेछ । गुजरातका युवा ब्याटर शुभमन गिल उच्च लयमा छन् । गिलले पछिल्ला दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादविरुद्ध लगातार शतक हानेका थिए ।
त्यस्तै विजय शंकर डेविड मिलर गुजरातका प्रमुख ब्याटर हुन् । यसैगरी हार्दिक पान्ड्या, राहुल टेवाटिया र राशिद खान पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । उता राशिद खान र नुर अहमदको स्पिनर जोडी चेन्नईलाई घातक बन्नसक्छ । यी दुई स्पिनर गुजरातका प्रमुख बलिङ हतियार हुन् । यता चेन्नईका ओपनर ऋतुराज गायकवाड र डेभन कन्वे प्रमुख ब्याटर हुन् ।
यी दुबै ओपनरले यस सिजनमा सानदार प्रदर्शन गरेका छन् । यस सिजनमा अजिंक्या रहाणेले फरक शैलीमा प्रस्तुत हुँदै आक्रामक ब्याटिङ गर्दै आएका छन् । यस्तै शिवम दुबे ,मोईन अली, रविन्द्र जडेजा र धोनी जस्ता खेलाडी तल्लोक्रममा हुँदा चेन्नईको ब्याटिङ मजबुत छ ।
चेन्नईका तीव्र गतिका बलर महिशा पाथिरानाले डेथ ओभर र दीपक चाहरले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अहिलेसम्म चेन्नई र गुजरातबीच तीन खेल भएका छन् । जसमा चेन्नई तीनै खेलमा पराजित भएको छ । आज पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।
दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता आउनेछ । लखनउ र मुम्बईबीच भोलि एलिमिनेटर खेल हुनेछ । शुक्रवार दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीबीच खेल हुनेछ । आईपीएलको फाइनल खेल आइतवार हुनेछ ।