सुदूरपश्चिममा आम हड्ताल,एमालेको समर्थन

२८ जेठ, काठमाण्डौ ।
गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आम हड्ताल आह्वान गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिको चरणबद्ध आन्दोलनअन्तर्गत सुदूरपश्चिम प्रदेशभर आमहडताल घोषणा गरिएको हो ।

Advertisement

हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा रात्रिकालीन सवारी साधन भित्रिने क्रम भने जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । शैक्षिक संस्था, बजार व्यवसाय पनि सञ्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले हड्तालका कारण अत्यावश्यकबाहेकका सेवा प्रभावित भएको जानकारी दिए । उनका अनुसार धनगढीसहित टीकापुर अत्तरिया, सुखड, लम्की, चिसापानीलगायतका क्षेत्रमा बजार व्यवसाय चलेका छैनन् भने दुई पाङ्ग्रे बाहेकका सवारी साधन चलेका छैनन् ।

Advertisement

यसैक्रममा प्रहरीले आठ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बिहान प्रदेश संसद् भवन बाहिर ढुङ्गा हान्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो । २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने निर्णय गरेको थियो तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो ।

सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको छ । सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने संघर्ष समितिले जनाएको छ । यसैबीच नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणा बारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ ।

Advertisement

आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशबासी आन्दोलित भएका बेला प्रदेश सरकारको कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरेका हुन् । उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top