Nepal Times
Nepal Times
486
Shares

तीन दलले मत नदिए आज मधेस सरकार ढल्ने

तीन दलले मत नदिए  आज मधेस सरकार ढल्ने

३० जेठ, काठमाण्डौ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन् । उनले हतारिएर आकस्मिकरुपमा विश्वासको मत लिन लागेका हुन् । यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिकरुपमा प्रदेशसभाको बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ । पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए । समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ । तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको थिएन । ३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका हुन् ।

यसअघि बिहान बसेको सत्ता गबन्धन दलको बैठकले विश्वासको मत लिनु पर्ने निर्णय गरेको थियो । प्रदेशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ । गत २६ गते बसेको प्रदेशसभाको बैठक अगामी जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् । हाल प्रदेश सरकारलाई एमालेबाहेक सबै दलको समर्थन छ ।

कुल १०७ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जना सांसदको साथ चाहिन्छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)को सम्बन्ध अहिले बिग्रिएको छ । माओवादी केन्द्रले नियमित दुईवटा प्रदेश सभा बैठक नै बहिष्कार गरिसकेको छ ।

डा. सीके राउत नेतृत्वको जनमत र महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सरकारसँग असन्तुष्ट छन् । यी तीनै दलले सम्मानजनक मन्त्रालय नपाएको गुनासो गर्दै आएका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन केही कठिनाइ हुने देखिन्छ । आज आवश्यक विश्वासको मत नपाए जसपा नेतृत्वको सरकार ढल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.