५ असार, एजेन्सी ।
५०० करोड भारु खर्च गरेर निर्माण गरिएको ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ सोमबारदेखि फ्लपको बाटोमा ओर्लिएको छ । टिजर सार्वजनिक भएदेखिनै यो फिल्म भारतसँगै नेपालमा पनि चर्चामा छ । नकरात्मक नै सही यस फिल्म समाचारका हेडलाइनमा छाएको छ । सीतालाई ‘भारतकी छोरी’ भनिएपछि नेपालमा विवादित बनेको यो फिल्म भारतमा बक्स अफिसको नम्बरका कारण अहिले चर्चामा छ ।
राम्रो ओपनिङ गरेको प्रभास, क्रिति सेनन र सेफ अली खान स्टारर यो फिल्म सोमवार ‘क्र्यास’ भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । रामायणमा आधारित ‘आदिपुरुष’ २०२३ को प्रतिक्षित फिल्म थियो । फिल्म रिलिज हुँदा भारतमा यसले दर्शक र क्रिटिकहरुबाट मिश्रित प्रतिक्रिया पाएको थियो भने फिल्ममा प्रयोग भएका संवादहरु र रामायणको ‘बिना आत्मा’को कथा बनाएको भन्दै निर्माताहरुको चर्को आलोचना पनि भएको थियो ।
यसैकारण पनि ‘आदिपुरुष’ चौथो दिन (सोमवार)मा आएर ‘क्र्यास’ भएको छ । सोमवार यसले २०÷२२ करोड (अनुमानित) मात्रै कमाएको छ, जुन आइतवारको कमाइ ६९ करोड भन्दा निकै कम हो । नकारात्मक ‘माउथ पब्लिसिटी’को नतिजा फिल्मको कमाइमा देखिएको समीक्षक तरन आदर्शको भनाइ छ । अघिल्लो दिनको तुलनामा सोमवारको कमाइ ६८ देखि ७१ प्रतिशतले घटेको देखिन्छ ।
जुन फिल्मको बक्स अफिस यात्राको लागि चिन्ताजनक संकेत हो । सोमवारको कमाइसहित भारतीय बक्स अफिसमा फिल्मले २४४ देखि २४६ करोड नेट कमाएको छ । नेपालका अधिकांश हलहरुमा सोमवार ‘आदिपुरुष’ प्रदर्शन भएन । काठमाडौं, पोखरा, धरानलगायत पालिकाले फिल्ममा प्रयोग भएका आपत्तिजनक शब्द नहटाएसम्म फिल्म प्रदर्शन गर्न नदिने घोषणा नै गरेका छन् ।