१७ साउन, एजेन्सी ।
भारतको केरला राज्यमा सरसफाइको काम गर्ने ११ जना महिलाको आर्थिक अवस्था एक चिट्ठाले क्षणभरमै बदलिदिएको छ । सरसफाइमा संयुक्त रुपमा काम गर्ने महिलाहरुले १० करोड भारतीय रुपैयाँको चिट्ठा जितेका छन् । पुरस्कार घोषणा हुनुअघि यी सबै महिलाको आर्थिक अवस्था यति नाजुक थियो कि उनीहरूले दुई सय ५० रुपैयाँको टिकट किन्न संयुक्त रुपमा पैसा जम्मा गर्नुपरेको थियो ।
यसै कारण नौ जनाले २५–२५ रुपैयाँ र दुई जनाले साढे १२ रुपैयाँका दरले रकम उठाएर संयुक्त रुपमा खरिद गरेको दुई सय ५० रुपैयाँको चिट्ठाले १० करोड रुपैयाँ जितेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अब उनीहरुले सरकारलाई तिर्नुपर्ने कर कटाएर ६ करोड ३० लाख रुपैयाँ पाउनेछन् ।
दामासाहीले भाग लगाउँदा २५ रुपैयाँको दरले रकम उठाउने नौ जनाले जनही ६३ लाख रुपैयाँ र साढे १२ रुपैयाँका दरले रकम उठाउने दुई जनाले संयुक्त रुपमा ६३ लाख रुपैयाँ पाउनेछन् । नकुहिने फोहोर संकलन गर्ने ती महिलाहरुले दिनको दुई सय ५० रुपैयाँ ज्याला पाउँछन् । चरम आर्थिक अभावको जीवन बिताइरहेका आफुहरुको लागि चिट्ठाको रकम बरदान सावित भएको उनीहरुले बताएका छन् ।
लाखौँ रुपैयाँको चिट्ठा जिते पनि उनीहरुले काम भने नछाड्ने बताएका छन् । यही कामले भाग्य खुलेको कारण काम नछाड्ने निर्णय गरेको ७२ वर्षकी कुट्टीमालुले बताएको बीबीसीले जनाएको छ । रिपोर्टका अनुसार २६ जुलाईमा यी महिलाहरु सामान्य रुपमा आफ्नो काम गरिरहेका थिए । त्यही क्रममा उनीहरुले १० करोडको चिठ्ठा जितेको थाहा पाए । सबैलाई चिन्न केही समय लाग्यो ।
२७ जुलाईमा सबैको नाम बाहिर आयो । द हिन्दुको रिपोर्ट अनुसार उनीहरुको नाम शिजा, पार्वती, बिन्दु कोजुक्कुमल, लीला कुरुलिल, रश्मी पुल्लनचेरी, कार्तियानी पट्टनाथ, राधा मुन्डुपलाथिल, कुट्टीमालु चेरुकुट्टिल, बेबी चेरुमनिल, चन्द्रिका थुडुसेरी र शोभा कुरुलिल रहेको छ। केरला राज्यमा निजी चिट्ठा कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ । तर राज्य सरकार स्वयंले चिट्ठा सम्बन्धी एउटा अत्यधिक लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।