२२ साउन, काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम सुर्रे जागुअर्र्सलाई फाइनलमा पाँच विकेटले हराउँदै अर्का स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम मोन्ट्रियल टाइगर्सले क्लोबल टी–२० क्यानडा–२०२३ को उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा जागुअर्र्सले प्रस्तुत गरेको १३१ रनको लक्ष्य निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै टाइगर्सले उपाधि जितेको हो । सीएए सेन्टरमा टाइगर्सलाई जित दिलाउन सेफएन रुथरफोर्डले ३८ रन बनाए ।
कप्तान क्रिस लिनले ३१, आन्द्रे रसेलले ६ बलमा २० र र दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । दीपेन्द्र १६ रनमा रिटायर्ड आउट भएका थिए । दीलप्रित सिंहले १४ र श्रीमन्था विजयेरत्नेले १२ रन थपे । जागुअर्र्सका इफ्तिखर अहमेदले दुई विकेट लिँदा स्पेन्सर जोनसन र आयान खानले समान एक विकेट लिए ।
जागुअर्र्सबाट तीन ओभर बलिङ गरे पनि सन्दीपले भने विकेट लिन सकेनन् । उनले २० रन खर्चिए । त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको सुर्रे जागुअर्र्सका जतिन्दर सिंहल ५७ बलमा तीन चौकासहित ५६ रन जोडेका थिए ।
आयान खानले २६, मोहम्मद ह्यारिसले २३ र लिटोन दासले १२ रन बनाए । टाइगर्सका आयान अफ्जल खानले दुई विकेट लिए । आन्द्रे रसेल, अब्बास अफ्रिदी र कार्लोस ब्रेथवेटले समान एक विकेट लिए ।
यससंगै नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आफ्नो करिअरको पहिलो विदेशी लिगमै च्याम्पियन बनेका छन् । दीपेन्द्रको यो करिअरको पहिलो विदेशी फ्रेन्चाइज लिग थियो । पहिलो फ्रेन्चाइज लिगमै दीपेन्द्र च्याम्पियन बन्न सफल भएका हुन् ।
प्रतियोगिताभर दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रभाव छोड्न सफल भए । प्रतियोगितामा दीपेन्द्र टाइगर्सको लागि सर्वाधिक रन बनाउने ब्याटरमा तेस्रो नम्बरमा रहे । दीपेन्द्रले ६ इनिङमा १ सय ४३ बल खेल्दा १ सय ४० रन बनाए ।
उत्कृष्ट प्रदर्शन २८ रहँदा स्ट्राइकरेट १०२.१४ र कुल १२ चौका प्रहार गरे । दीपेन्द्रले खेलमा दुई विकेट लिएका थिए । तल्लोक्रममा ब्याटिङ गरेका दीपेन्द्र रन भन्दापनि साझेदारी निर्वाहमा बढी ध्यान दिएका थिए । फिल्डिङ भने दीपेन्द्रको त्यतिनै उत्कृष्ट रह्यो ।
उता सन्दीप लामिछानेले प्रतियोगितामा ८ खेलमा ११ विकेट लिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा चौथो नम्बरमा रहे । सर्रेका तीव्र गतिका बलर म्याथ्यु फर्ड र भ्यानकुभेर नाइट्सका जुनैद सिद्धिकले समान १५ विकेट लिए । नाइट्सका रुवेन ट्रम्पलम्यान १३ र ब्राम्पटन वल्भसका लोगेन भान बीक १२ विकेट लिएका थिए ।