१३ भदौ, एजेन्सी ।
नाइजरपछि अब अर्को अफ्रिकी देशमा सैनिक विद्रोह भएको छ । मध्य अफ्रिकी देश गाबोनका सेना अधिकारीहरूको एक समूह राष्ट्रिय टिभी च्यानलमा देखा परेका छन् र सत्ता कब्जा गरेको दाबी गरेका छन् । देशको निर्वाचन आयोगले राष्ट्रपति अली बोङ्गोलाई लगातार तेस्रो पटक चुनावमा विजयी घोषणा गरेको केही समयपछि नै यी सैन्य अधिकारीहरूले विद्रोहको घोषणा गरेका हुन् ।
विद्रोही सैनिक अधिकारीहरूले चुनावी नतिजा धाँधली भएको दाबी गरेका छन् । गाबोन न्बदयल द्दद्ध च्यानलमा देखा परेका सैन्य अधिकारीहरूले सबै सुरक्षा र रक्षा बलहरूको प्रतिनिधित्व गरेको बताएका छन् । उनीहरुले निर्वाचनको नतिजा रद्द भएको बताएका छन् । अर्को आदेश नभएसम्मका लागि देशका सबै नाका बन्द र सबै सरकारी संस्था विघटन गरिएको छ ।
सेनाले नियन्त्रणमा लिएपछि देशको राजधानी लिब्रेभिलमा भारी गोलीबारी भएको खबर प्राप्त भएको छ । ओपेक सदस्य राष्ट्र गाबोन सरकारको तर्फबाट हालसम्म कुनै वक्तव्य आएको छैन। राष्ट्रपति बोङ्गो कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन। उनी अन्तिम पटक शनिबार मतदान गर्ने क्रममा सार्वजनिक रूपमा देखिएका थिए।
सैन्य अधिकारीहरूले भनेका छन्, कि ’गाबोनका जनताको नाममा… हामीले वर्तमान शासनको अन्त्य गरेर शान्तिको रक्षा गर्ने निर्णय गरेका छौं।’ जब एक अधिकारीले यो कथन पढिरहेका थिए, त्यहाँ धेरै संख्यामा अन्य अधिकारीहरू चुपचाप उभिरहेका थिए। उनले सेनाको पोसाक लगाएका थिए ।
देशको सरकार, सिनेट, राष्ट्रिय सभा, अदालत र निर्वाचन आयोग विघटन भएको छ । गाबोनमा यो कु’ सफल भयो भने सन् २०२० यता यो कु’ भएको आठौँ पश्चिम र मध्य अफ्रिकी देश हुनेछ । यसअघि माली, गिनी, बुर्किना फासो, चाड र नाइजरमा प्रजातान्त्रिक सरकारहरू हटाइएका थिए।
यो विद्रोहपछि देशमा अनिश्चितताको वातावरण गहिरिएको छ । यति मात्र होइन, अलजजीराको रिपोर्टका अनुसार यो सम्पूर्ण घटनालाई लिएर गाबोनमा निकै तनाव देखिएको छ । सेनाका अधिकारीहरूले वर्तमान सरकारले धेरै वर्षदेखि गाबोनका जनताको इच्छालाई सम्मान नगरेको दाबी गरेका छन्। त्यही भएर उनीहरुले परिवर्तन गर्नुपरेको हो ।