Nepal Times
Nepal Times
117
Shares

प्रचण्डको भ्रमण अघि तातोपानी नाका खुल्यो

प्रचण्डको भ्रमण अघि तातोपानी नाका खुल्यो

१५ भदौ, काठमाण्डौ ।
आठ वर्षअघि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि खुला भएको हो । भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो ।

नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । त्यसक्रममा सांसद सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए । सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन् ।

‘यो ऐतिहासिक क्षणको साक्षी बनेर खुसी साट्न पाउँदा खुसी लागेको छ,’ सापकोटाले भनेका छन्, ‘आजबाट नाका पूर्णरुपमा सञ्चालनमा आएको छ।’ गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाका खुला गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार आजबाट तातोपानी नाका स्थानीय सर्वसाधारणको लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताएका छन् । विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो। भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।

तीन महिनाअघिदेखि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो । नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको समयमा नाका खुल्ला गरिएको छ ।

प्रचण्डले चीन भ्रमणमा नयाँ नाका खोल्नका लागि प्रस्ताव गरिने बताएका छन् भने चीनसँग पनि विद्युत व्यापार गर्ने तयारी गरेका छन् । चीनले भने प्रचण्डको चीन भ्रमणका क्रममा बीआरआई परियोजनालाई कार्यान्वयनमा जोड दिने अनुमान गरिएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघको महासभामा भाग लिएर अमेरिकाबाटै चीन प्रस्थान गर्ने कार्यक्रम तय भईसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.