५ असोज,एजेन्सी ।
अर्को महिना भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा स्टार बलर नसिम साह विश्वकप टोलीमा छुटेका छन् । साहले चोटका कारण आफ्नो सम्भावित पहिलो विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा हसन अलिलाई टिममा समावेश गरिएको छ ।
पछिल्लो समय पाकिस्तानका लागि साहले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । उनको अनुपस्थितिले टीमलाई ठूलो धक्का पुग्ने आँकलन गरिएको छ । यद्यपि, पाकिस्तानको फास्ट बलिङ अझै पनि धारिलो नै छ । सहिन साह अफ्रिदीलाई ह्यारिसले साथ दिनेछन् । यसैगरी मोहम्मद वसिम जुनियर पनि टिममा परेका छन् ।
स्पिनतर्फ सदाब खानका साथमा मोहम्मद नजाज र उस्मान मिर रहेका छन् । उनीहरु तीनै जना औसत क्षमताका स्पिनर हुन् । पाकिस्तानले आफ्नो टिममा स्थापित अनुहारहरुलाई नै स्थान दिएको छ । बाबर आजमको कप्तानीमा रहेको टिममा तीन ओपनर छन् । फकार जमान, इमाम उल हक र अब्दुल्ला सफिकमध्ये दुईजनाले ओपनिङ गर्नेछन् ।
तेस्रो नम्बरमा बाबर र चौंथो नम्बरमा मोहम्मद रिजवानको बलियो पंति छ । उनीहरुपछि भने अलिकति फितलो लाइनअप देखिन्छ । पाकिस्तानले पाचौं, छैटौं र सातौं नम्बरमा साउद सखिल, इफ्तिकार अहमद, सलमान अली आघा, सदाव खान र मोहम्मद नबाजमध्ये तीनजनालाई खेलाउने छ ।
बलरहरुमा साहिन र ह्यारिस रफ नियमित रहनेछन् । थप एक फास्ट बलरमा मोहम्मद वसिम जुनियर र हसन अलिमध्ये एकले स्थान पाउनेछन् । एक अतिरिक्त स्पिनर राख्न चाहेमा उस्मान मिरको मौका आउने छ । विकेटकिपरको भूमिका रिजवानले निभाउनेछन् ।
पाकिस्तानले प्रतियोगिताअघि न्यूजिल्यान्ड र अष्ट्रेलियासँग दुईवटा वार्मअप म्याच खेल्नेछ । पाकिस्तानको पहिलो विश्वकप खेल भने नेदरल्यान्ड्सविरुद्ध ६ अक्टोबरमा हैदरावादमा खेल्नेछ । आईसीसी एक दिवसीय विश्वकप खेल्न पाकिस्तानसहित हालसम्म वटा राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन्। अब श्रीलंका र बंगलादेशले मात्र टोली घोषणा गर्न बाँकी छ ।