Nepal Times
Nepal Times
3
Shares

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ १७ औं पटक स्थगित

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ १७ औं पटक स्थगित

७ असोज, काठमाण्डौ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि आज तोकिएको पेसी पनि स्थगित भएको छ । जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो ।

यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँट मात्रै इजलास बस्नेछ । न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा इजलास नबस्ने उनले बताए ।

उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट न्यायाधीशहरू सरूवा भएर अन्यत्र गएको र अन्यत्रबाट काठमाडौं सरूवा भएका न्यायाधीशहरू अझै काममा नआइसकेकाले कतिपय मुद्दाहरूको सुनुवाइ स्थगित भएको हो । सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन ।

यसअघि यो मुद्दामा गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइ भएको थियो । त्यसबेला कार्कीले पीडित किशोरी गौशाला २६ को पञ्जीकरणसम्बन्धी फाइलको ढड्डा नै झिकाउन आदेश दिएको थियो । उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइसम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेको थियो । त्यसैले गत १ गते नै मुद्दाको छिनोफानो हुने अनुमान थियो ।

तर पेसी नै स्थगित भएको हो । अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ । यसअघि आज पेसी परेकाले एसियाडका लागि चीन जाने टोलीको विदाइमा सन्दीप अनुपस्थित थिए । तर अब पेसी सरेपछि उनी पनि चीन जाने छन् ।

यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि जानुपरेको थियो । भदौ १० गतेका लागि पेसी तोकिए पनि त्यस दिन मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि उनी भोलिपल्ट ११ गते पाकिस्तान जान पाएका थिए । फैसला चरणमा पुगिसकेको मुद्दामा पेसी तोकिएर सुनवाइ स्थगित भएको आजसहित १७औं पटक हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.