८ असोज, काठमाण्डौ ।
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । यसैबीच गएराती भएको वर्षाका कारण कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।
अस्पतालका कक्षहरुभित्रै पानी पसेपछि बिरामी तथा कुरुवाहरुलाई सास्ती भएको छ । पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा भरिएको छ । एकैछिन परेको पानीले शहर जलमग्न भएपछि स्थानीय बासिन्दाहरू अचम्ममा परेका छन् ।
वर्षात्को पानी निकास नहुँदा क्षणभरको वर्षामै धनगढी जलमग्न हुने गरेको छ । शहरका खोलानाला अतिक्रमण हुँदा पानीको निकास रोकिएको जानकारहरू बताउँछन् । धनगढी उपमहानगरले खोलानाला अतिक्रमण हटाउने अभियान चलाए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।