८असोज,काठमाण्डौ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले वाचा विपरित काम गरेको भन्दै धर्नामा बसेका अभियन्ता ईःले बालेनले लगाएको आरोपको खण्डन गरेका छन् । बालेनले माग सम्बोधनमा लागि आफुले वार्ताको पहल गर्दा समेत वार्तामा नआएको राजनीतिबाट प्रेरित भएको बताएपछि सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् ।
सोमबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको आरोप लगाएका थिए । आन्दोलनको विषय र समस्याका बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको उनले उल्लेख गरेका छन् ।
“विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ, यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,” मेयर बालेनले लेखेका छन्, “लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ ।
सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?” बालेनको यो अभिब्यक्ति लगत्तै अभियन्ता ईःले उक्त स्ट्याटस सेयर गर्दै मेयर बालेनको भनाइको खण्डन गरेका छन् । ईःले उल्टै नगर प्रहरी आएर आफूहरूलाई हप्काएको उल्लेख गरेका छन् ।
“मेयर यहाँ आउनुभएको होइन । सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन् । करिब २० मिनेटअगाडि अकस्मात् एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए,” ईःले लेखेका छन्, “हामीले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ ।
नगर प्रहरीले रिसाएर जवाफ दिए– त्यसो भए मेयरले भेट्दैन ।” विगत केही दिनदेखि अभियन्ता ईःलगायत व्यक्ति प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअगाडि मौन आन्दोलनमा छन् । यसअघि नेपाली कांग्रेसका महामन्त्री गगनल थापाले मेयर बालेनलाई अभियन्ताहरुसँग वार्ता गर्न आग्रह गरेका थिए ।