९ असोज, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि आज चीन उडेका छन् । एसियाडका लागि नेपाली टोली आइतबार नै चीन गएको थियो । तर सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि सोमबार नै उनी चीन जाने भनिएका थियो । तर उनी गएनन् ।
आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए । त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो । सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए । त्यो भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताएका थिए ।
फैसला जे आएपनि छिटो आए सहज हुने उनको तर्क थियो । पूर्व कप्तान समेत रहेका पारसले उनलाई सम्झाए । एसियाडमा क्रिकेट पदक ल्याउने सम्भावना भएको खेल भएकाले पनि सन्दीपले गएर खेल्नुपर्ने सचिव खड्काले बताएका थिए । क्यान नेतृत्वले सन्दीपलाई उनको सरोकारका विषयहरू सम्बोधन गर्न आफूहरुले सक्दो कोसिस गर्ने बताएको थियो ।
यो छलफलपछि चीन जान राजी भएका सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि भनेर पटक पटक पेसी तोके पनि विभिन्न कारणले सुनुवाइ स्थगन हुने क्रम जारी छ । सन्दीपविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा मात्र १३ न्यायाधीश फेरिइसकेका छन् ।
यसको अहिलेसम्म २९ औ पटक सम्म पेशी तोकिएको छ भने १७ औं पटकको सुनुवाइ स्थगित भएको छ । एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ । नेपालले चीनमा एसियाली पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । नेपाल प्रतियोगिताको तेस्रो दिन सकिँदासम्म अन्तिम १६ भन्दा माथि पुग्न सकेको छैन् ।