Nepal Times
Nepal Times
333
Shares

अबदेखि दैनिक २० किलो सुन ल्याउन पाइने

अबदेखि दैनिक २० किलो सुन ल्याउन पाइने

११ असोज, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै दैनिक २० किलोसम्म सुन आयात गर्न दिने जनाएको हो । अहिले बैंकहरुले दैनिक १० किलोभन्दा बढी सुन आयात गर्न पाउँदैनन् । यो कोटा २०७८ फागुनदेखिको हो । बैंकले आयात गरेको सुन व्यवसायीहरुमार्फत उपभोक्ताकहाँ पुग्छ ।

व्यवसायीहरुले १० किलोले बजारको माग नधान्ने भन्दै कोटा बढाउनका लागि लबिङ गर्दै आएका थिए । सर्कुलर अनुसार निर्धारित सीमामा नबढ्ने गरी बैंकहरुले एकमुष्टरुपमा आयात गर्न पाउनेछन् । कुनै महिना तोकिए बमोजिम सुन आयात नभए अर्को महिना कोटा थप्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

तर दैनिक निर्धारित कोटा त्यस दिन आयात नभए सोही महिनाको अन्त्यसम्म आयात गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन । “व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्काै महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणका लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनाहरूमा आयात गर्न पाइने छैन ।

तर, कुनै एक महिना (उदाहरणका लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन,“ सर्कुलरमा भनिएको छ । व्यसायीहरुले महिना सकिएको सात दिनभित्र बैंकसँग खरिद गरेको सुन के कसरी बिक्री भयो भन्ने विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा विदेशी विनिमय सञ्चिति घट्न नदिन राष्ट्र बैंकले सुनको कोटा घटाएको थियो । यसैबीच सुनको मूल्य निरन्तर ओरालो लागेको छ । तीन दिनमा प्रतितोला २ हजार ६०० रुपैयाँ भाउ घटेको छ । बिहिबार मात्र प्रतितोला १ हजार ४०० रुपैयाँ भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ थियो। त्यसयता तीन दिन लगातार घटिरहेको छ । मंगलबार प्रतितोला ४०० र बुधबार ८०० रुपैयाँका दरले भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा १० किलोबाट २० किलो प¥याउने निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गरेको भोलिपल्ट बिहिबार भाउ तोलामै १ हजार ४ सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँका दरले सुनको कारोबार भइरहेको छ । यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.