अनमोल केसी राति नै अस्पताल भर्ना / दोषी ठहरिए के सजाय हुन सक्छ अनमोललाई ?

१२ असोज ८०, शनिबार

१३ असोज, काठमाण्डौ ।
शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी हिजो राति नै अस्पताल भर्ना भएका छन् । प्रहरीका अनुसार छातीमा समस्या देखा परेको भन्दै उनलाई चिरायु अस्पतालमा भर्ना गरिएको छ । केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरी बानेश्वरस्थित अपराध महाशाखा ल्याएको थियो ।

चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि छ । रावायण चलचित्रका लागि १० लाख एडभान्स लिएको र काम गर्ने बेलामा सहमति नभएको भन्दै हिँडेपछि केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । चलचित्रका निर्देशक सुदर्शन थापाले केसीले विश्वासघात गरेको प्रतिक्रिया दिए ।

निर्माण पक्षले एक करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको दावी गरेको छ । प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सामान्य उजुरी वा निवेदन नभएर जाहेरी नै परेकाले मुद्धाको प्रकृयामा अगाडि बढ्ने सम्भावना बलियो छ । अनमोल केही दिन प्रहरी हिरासतमा रहन सक्नेछन् ।

Advertisement

पक्राउ परेपछि अनमोलले अदालतबाट जारी निषेधाज्ञा देखाएपनि प्रहरीले उनलाई छाडेन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले देवानी प्रकृतीको मुद्धाका लागि निषेधाज्ञा भएकाले केसीलाई नछाडिएको बताएको छ । प्रहरीले दावी गरेजस्तो अनमोलले आपराधिक विश्वासघात गरेको पुष्टी भए उनलाई कैद सजाय हुने छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २५२ मा आपराधिक विश्वासघात गर्न नहुनेबारे उल्लेख छ ।

‘आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा र अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पु¥याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएमा आपराधिक विश्वासघात भएको मानिने’ उल्लेख छ ।

Advertisement

उक्त दफाको उपदफा ३ मा सजायबारे उल्लेख छ, ‘कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइ दिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने’ भनिएको छ । त्यसबाहेक ‘अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने’ भनिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top