१३ असोज, एजेन्सी ।
नेपालको पब्जी टोली १९ औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन । नेपालले समूहमा जापानलाई पछि पारेको छ । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् ।
नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय लगायो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो । पहिलो राउण्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिम रहेको थियो । तर त्यसपछि दुवै राउण्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा गर्यो ।
टोलीका कप्तान सुविन महर्जन ‘रुल्ज’ ले सेमिफाइनलमा बाह्रिनु पर्दा दुख लागेको बताएका छन् । ‘निकै दुख लागेको छ । पदकको लक्ष्य लिएर आएका थियौं । तर त्यो हासिल गर्न सकेनौं । उनी भन्छन्, जापानलाई पछि पार्नुभन्दा जित्नु ठूलो थियो,’ । नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए ।
नेपालले अन्तिम आठको खेलमा हङकङ, प्लेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको थियो । जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेको थियो । यससँगै अब नेपालको इस्पोर्ट्समा डोटामा मात्र प्रतिस्पर्धा बाँकी छ । डोटामा आज नेपालले किर्गिस्तानसँग क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ ।