४ मंसिर , काठमाण्डौ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अक्वान’ शुक्रबार बिहान भारतीय भूमिमा प्रवेश गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त चक्रवात आज बिहान ७ः३० देखि ८ः३० बजेको बिचमा भारतका आन्ध्र प्रदेश र ओडिसा बिचमा रहेको गोपालपुर तटमा अवतरण भएको हो।

हावाको गति प्रतिघण्टा ७० देखि ९० किलोमिटरसम्म पुगेको थियो। आँधी अझै पनि चलिरहेको छ।
आँधीको प्रभावका कारण ओडिसा, आन्ध्र प्रदेश र पश्चिम बंगालमा भारी वर्षा भइरहेको छ।
ओडिसामा झन्डै ४ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूका लागि ९ हजार ३४१ आश्रय शिविर स्थापना गरिएको छ।
४२३ उद्धार टोली खटाइएको छ। आँधीका कारण पूर्वी रेलवेले ४१ एक्सप्रेस रेल सेवा रद्द गरेको छ र दक्षिण पूर्वी रेलवेले २८ एक्सप्रेस रेल रद्द गरेको छ।
२९ रेलको समय परिवर्तन गरिएको छ। आँधीले भारतका १० राज्यमा असर गर्न सक्ने अनुमान गरिएको छ।
यसका कारण प्रतिघण्टा ९० देखि १०० किलोमिटरको गतिमा हावा चल्ने र हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने विभागले जनाएको छ ।
मौसम विभागले शुक्रबारसम्म दक्षिणपश्चिम, पश्चिम–मध्य र उत्तरपश्चिम बंगालको खाडी क्षेत्रमा माछा मार्न नजान माछा मार्नेहरूलाई आग्रह गरेको छ ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशामा ७४ वटा उद्धार टोली परिचालन गरिएको छ ।
साथै, सम्भावित जोखिमबाट बचाउन दुई लाखभन्दा बढी मानिसको पहिचान गरी स्थानान्तरणको तयारी गरिएको छ ।
ओडिशाको मलकानगिरी जिल्लामा नोभेम्बर १९ र २० गते विद्यालय, कलेज तथा एकीकृत बाल विकास सेवा कार्यक्रमअन्तर्गत सञ्चालित आँगनवाडी केन्द्रहरू बन्द गरिने भएको छ ।
छिमेकी राज्य आन्ध्र प्रदेशमा माछा मार्ने गतिविधि स्थगित गरिएको छ ।
त्यहाँ राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का १३ टोली र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का ११ टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न दुवै राज्यका प्रशासनले उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनका तयारीलाई तिब्र बनाएका छन् ।



