सर्बसाधारणसँगै दिल्ली जानेछन् बालेन, तोड्नेछन् ओली, प्रचण्डका कदम

४ मंसिर २०८३, शुक्रबार
Share this
688shares

४ मंसिर , काठमाण्डौ।     

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार अर्थात् मंसिर ६ मा भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। उनी यसअघि राष्ट्रसंघको महासभामा सम्बोधन गर्न अमेरिका गएपनि द्धिपक्षीय भ्रमणका लागि भने पहिलो विदेश भ्रमणका लागि उनले भारतलाई रोजेका छन्।

उनको दिल्ली भ्रमणका क्रममा भारत र नेपालबीच विभिन्न महत्त्वपूर्ण सम्झौता तथा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भारतले बालेनको दिल्ली भ्रमणलाई ऐतिहासिक बनाउने बताइसकेको छ । ठूलो लगानी र सहयोगको घोषणासहित यसअघि नेपालले लामो समयदेखि उठाउदै आएका विषयहरुमा बालेनको भ्रमणले ब्रेक थ्रु गर्नेछ ।

Advertisement

बालेनको भ्रमणलाई ऐतिहासिक बनाउने भनेको भारतले उनको स्वागतका लागि विमानस्थलमा कसलाई उपस्थित गराउँछ भन्ने चासो पनि त्यति नै बढेको छ। यता भारत भ्रमणका क्रममा पनि बालेनले विगतका केही परम्परा तोड्ने भएका छन् ।

भारत भ्रमणमा निस्कनुअघि नै प्रधानमन्त्री शाह एउटा फरक निर्णयका कारण चर्चामा छन्। नेपालमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा प्रस्थान गर्नुअघि गार्ड अफ अनर दिने र विमानस्थलमा औपचारिक बिदाइ समारोह आयोजना गर्ने परम्परा रहँदै आएको छ।

तर प्रधानमन्त्री शाहले यसपटक उक्त परम्परा तोड्दै सामान्य रूपमा भारत प्रस्थान गर्ने संकेत गरेका छन्। यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाँदा पनि उनले गार्ड अफ अनर र औपचारिक बिदाइ समारोहमा सहभागिता जनाएका थिएनन्।

भारत भ्रमणका क्रममा पनि उनले यही शैलीलाई निरन्तरता दिन सक्ने देखिएको छ। बिहीबार साँझसम्म विमानस्थलमा औपचारिक बिदाइ समारोह आयोजना गर्ने कुनै निर्णय भएको थिएन। यद्यपि विमानस्थलको भीआईपी लाउन्जमा सामान्य कार्यक्रम हुन सक्ने सम्भावनाबारे चर्चा भएको छ।

तर, अधिकारीहरूका अनुसार अहिलेसम्म त्यस्तो कुनै औपचारिक व्यवस्था तय गरिएको छैन। प्रधानमन्त्रीको भारत भ्रमणअघि कूटनीतिक प्रोटोकल पालना गर्ने वा नगर्ने भन्ने विषयमा उनका निकटस्थहरूबीच पनि फरक–फरक धारणा देखिएको छ।

केहीले प्रधानमन्त्रीको राजकीय भ्रमणमा स्थापित परम्पराको सम्मान गर्नुपर्ने तर्क गरेका छन्। तर अर्काथरीले यसअघि न्युयोर्क जाँदा पनि कुनै औपचारिक समारोह नगरिएको र त्यस निर्णयलाई युवाहरूले समर्थन गरेको भन्दै यसपटक पनि त्यस्तो कार्यक्रम आवश्यक नरहेको धारणा राखेका छन्।

नेपालमा यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा औपचारिक बिदाइ समारोह आयोजना गर्ने चलन थियो। यस्तो समारोहमा मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरू सहभागी हुने गर्थे।

तर प्रधानमन्त्री शाहले पदभार सम्हालेदेखि नै विभिन्न औपचारिक तथा कूटनीतिक प्रोटोकलमा फरक शैली अपनाउँदै आएका छन्। विदेशी कूटनीतिज्ञहरूसँगको भेटघाटमा समेत उनले स्थापित अभ्यासभन्दा फरक तरिका अपनाउने गरेका छन्।

यद्यपि, पहिलो विदेश भ्रमणका लागि भारतलाई रोज्ने उनको निर्णय भने नेपाली प्रधानमन्त्रीहरूले लामो समयदेखि अपनाउँदै आएको परम्पराअनुरूप छ। प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनको भए पनि उनी दिल्लीमा २४ घण्टाभन्दा केही बढी समय मात्र रहनेछन्।

यसअघिका नेपाली प्रधानमन्त्रीहरूले दिल्लीबाहेक भारतका अन्य सहरको पनि भ्रमण गर्ने गरेका थिए। तर शाहको यसपटकको भ्रमण दिल्लीमा मात्र सीमित रहनेछ। अन्य कुनै भारतीय सहर जाने कार्यक्रम तय गरिएको छैन।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका लागि सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुने भएको छ। प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्न लागेका हुन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक तालिका सार्वजनिक गरेको हो।

यो तालिका अनुरुप प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा छ ।

यसअघि पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना सदस्य रहने जानकारी दिए। उनका अनुसार सरकारी भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।

भ्रमण टोलीमा भारतस्थित नेपाली दूतावासका केही सदस्यसमेत थपिने सचिव राईले बताए। सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुने भए पनि निजी क्षेत्रबाट ठूलो संख्यामा व्यवसायी भारत जाने भएका छन्। सचिव राईका अनुसार निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह नेतृत्वको टोली मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जानेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजसमेत आयोजना गर्नेछन्। यसैगरी, भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले भारतीय सहयोगमा नेपालमा बनेका केही परियोजना संयुक्त रुपमा उद्घाटन र केही नयाँ परियोजनाका शिलान्याश गर्ने कार्यक्रम तय भएको सचिव राईले बताए। दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते काठमाडौं फर्कने कार्यतालिका तय भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top