हुथीको हुँकार,८० तले गगनचुम्बी भवनमा क्षेप्यास्त्र हान्यो

४ मंसिर २०८३, शुक्रबार
Share this
766shares

४ मंसिर , काठमाण्डौ।     

Advertisement

साउदी अरबले राजधानी रियादमा हुथीले आक्रमण गरेको छ । तर साउदीले लक्षित यमनको हुथी विद्रोहीले गरेका क्षेप्यास्त्र आक्रमण विफल पारिएको जनाएको छ । साउदी नेतृत्वको गठबन्धनले बिहीबार राजधानीलक्षित आक्रमणको जवाफ दिइएको र प्रारम्भिक आकलनअनुसार क्षेप्यास्त्रका अवशेष सहरमा खसेको जनाएको छ ।

समाचार संस्था डीपीए र एएफपीका अनुसार, आक्रमणमा रियादस्थित ८० तले भवनमा क्षति पुगेको छ । अधिकारीहरूले भवनलाई घेराबन्दी गरेका छन् । एएफपीका अनुसार, उक्त भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोष (सोभरेन वेल्थ फन्ड)को मुख्यालय छ ।

Advertisement

यो साउदी राजधानीको सबैभन्दा अग्लो भवन हो । एक प्रत्यक्षदर्शीले भवनका विभिन्न तलाको बाहिरी भागमा क्षति पुगेको र झ्यालहरू फुटेको बताएका छन् । आसपासका केही भवनमा पनि क्षति पुगेको उनको भनाइ रहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छना् ।

अरू दुई प्रत्यक्षदर्शीले पनि उक्त टावरमा क्षति पुगेको पुष्टि गरेका छन् । साउदी अरबको नागरिक सुरक्षा निकायका अनुसार आक्रमणबाट टावरका साथै आसपासका भवनहरूमा समेत क्षति पुगेको छ। सरकारी समाचार संस्था एसपीएका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन।

हुथी विद्रोहीहरूले बिहीबार रियादको वित्तीय केन्द्रलाई बिहान र साँझ गरी दुई पटक निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिणी साउदी अरबको खामिस मुशैत हवाई सैन्य अखडा तथा पूर्वी प्रान्त जुबेलस्थित सदाफ पेट्रोकेमिकल कम्पनीमाथि पनि आक्रमण गरेको दाबी गरेका छन्।

यद्यपि, यी आक्रमणबारे साउदी सरकारले तत्काल पुष्टि गरेको छैन। आक्रमणबाट पीआईएफ टावरका सातदेखि आठ तलासम्मका झ्यालहरू फुटेका छन् भने भवनको बाहिरी धातु संरचनामा समेत क्षति पुगेको छ। घटनापछि उक्त वित्तीय क्षेत्र सर्वसाधारणका लागि बन्द गरिएको छ।

तीनवटा स्रोतले भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार भएको बताएका छन्। साउदी नेतृत्वको गठबन्धन सेनाले रियादतर्फ प्रहार गरिएको क्षेप्यास्त्रको खतरालाई निष्क्रिय पारेको र त्यसका अवशेष खसेको जनाएको छ। साउदी विदेश मन्त्रालयले भने आफ्नो सार्वभौमिकता, नागरिक र राष्ट्रिय सम्पत्तिको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने चेतावनी दिएको छ।

दुई साताभन्दा कम समयमै रियादको वित्तीय क्षेत्रमा हुथी आक्रमणबाट क्षति पुगेको यो दोस्रो घटना हो। यसअघि नोभेम्बर ८ मा साउदी सरकारी तेल कम्पनी अरामकोको भवनलाई निशाना बनाइएको थियो। यमनमा जारी द्वन्द्व पुनः चर्किएसँगै हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल पूर्वाधारलाई निशाना बनाउँदै आएका छन्।

साउदी समर्थित सरकारी सेनासँगको संघर्षमा हुथी समूहले यमनका विभिन्न भूभाग नियन्त्रणमा लिएको छ। यसैबीच, यमनको बन्दरगाह सहर मोखामा बिहीबार भएको हवाई आक्रमणमा १० जनाको मृत्यु र नौ जना घाइते भएको हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।

त्यस्तै, ताइज प्रान्तमा सडक मर्मत गरिरहेका कामदारलाई लक्षित गरी भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु र पाँच जना घाइते भएको दाबी गरिएको छ। यी आक्रमण साउदी समर्थित सेनाले गरेको हुथी पक्षको आरोप छ।

उता, इजरायली सेनाले बिहीबार लेबनानमा हिजबुल्लाहको सैन्य क्षमता पुनर्निर्माण गर्ने प्रयासलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। यसैबीच, इरानले स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङमा ठोक्किएपछि ४० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेका दुई विशाल तेलवाहक जहाजमा आगलागी भएको जनाएको छ।

अमेरिकामा भने सिनेटका रिपब्लिकन सांसदहरूले इरानसँगको युद्ध अन्त्य गर्न वा युद्ध जारी राख्न कंग्रेसको स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन दिने प्रस्ताव अस्वीकार गरेका छन्। यता, चीनको सेन्जेनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय बैठक भएको छ।

तीन देशका नेताहरूबीच भएको यो पहिलो प्रत्यक्ष त्रिपक्षीय भेटवार्ता हो। तर, इरानसँगको द्वन्द्व समाधानका लागि ट्रम्पले आफ्ना समकक्षीहरूबाट कुनै ठोस सहमति जुटाएको संकेत देखिएको छैन। बैठकपछि तीनै नेताले संयुक्त वक्तव्य जारी गर्दै सबै राष्ट्रको हितका लागि प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन बढाउने सहमति गरेका छन्।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद रुसी तेलको बिक्रीसम्बन्धी विषयसमेत यस छलफलमा जोडिएको छ। मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण विश्वकै तेल तथा ग्यास व्यापारमा अहिलेसम्मकै ठूलो अवरोध सिर्जना भएको छ।

सामान्य अवस्थामा विश्वको करिब पाँच भागको एक भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन प्रभावित भएपछि विश्व बजारमा पेट्रोल र डिजेलको मूल्यसमेत बढेको छ। हुथी विद्रोही यमनमा सक्रिय राजनीतिक, धार्मिक तथा सशस्त्र समूह हो।

उनीहरूलाई औपचारिक रूपमा ’अन्सार अल्लाह’ अर्थात् ईश्वरका समर्थक पनि भनिन्छ। सन् १९९० को दशकमा यमनको उत्तरी सादा क्षेत्रमा जायदी शिया समुदायको धार्मिक तथा राजनीतिक आन्दोलनका रूपमा यो समूह उदाएको थियो।

सुरुमा आफ्नो समुदायको अधिकार, राजनीतिक प्रतिनिधित्व र राज्यसत्तामा सहभागिता बढाउन सक्रिय रहेको यो समूह पछि सशस्त्र आन्दोलनमा परिणत भयो। सन् २०१४ मा हुथी विद्रोहीले यमनको राजधानी सानासहित उत्तरपश्चिमी क्षेत्रका ठूलो भूभाग नियन्त्रणमा लिए। त्यसपछि यमनको तत्कालीन सरकार विस्थापित भयो र देश गृहयुद्धमा फस्यो।

अहिले पनि उनीहरूको नियन्त्रणमा यमनको राजधानी सानासहित ठूलो भूभाग छ। हुथी र साउदी अरबबीचको द्वन्द्वको मुख्य जड यमनको सत्ता संघर्ष र क्षेत्रीय शक्ति प्रतिस्पर्धा हो। सन् २०१४ मा हुथी विद्रोहीले राजधानी साना कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द रब्बु मन्सुर हादीको सरकार विस्थापित भयो।

हादीले साउदी अरबमा शरण लिए। त्यसपछि सन् २०१५ मार्चमा साउदी अरबको नेतृत्वमा सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गर्दै हुथीविरुद्ध सैन्य अभियान सुरु ग¥यो। साउदी अरबको उद्देश्य अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई पुनः सत्तामा फर्काउनु र आफ्नो दक्षिणी सीमामा हुथीहरूको प्रभाव विस्तार हुन नदिनु थियो।

तर हुथीहरूले यसलाई आफ्नो देशमाथिको विदेशी हस्तक्षेप भन्दै प्रतिरोध गरे। यहीँबाट दुई पक्षबीचको द्वन्द्व थप गहिरियो। यस द्वन्द्वमा इरानको भूमिका पनि महत्त्वपूर्ण छ। इरानले हुथीहरूलाई सैन्य तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको अमेरिकासहित विभिन्न पक्षको आरोप छ।

हुथीहरू इरानसँग वैचारिक तथा रणनीतिक निकटता राख्छन्। तर उनीहरू आफूलाई इरानको नियन्त्रणमा रहेको समूह मान्न अस्वीकार गर्छन्। उनीहरूको आफ्नै राजनीतिक उद्देश्य र घरेलु आधारसमेत छ। यसरी यमनको आन्तरिक सत्ता संघर्ष विस्तारै साउदी अरब र इरानबीचको क्षेत्रीय प्रतिस्पर्धासँग जोडिएको छ।

सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामपछि साउदी अरब र हुथीबीचको लडाइँ केही हदसम्म मत्थर भएको थियो। सन् २०२३ मा स्थायी युद्धविरामका लागि पहलसमेत भएको थियो। तर त्यो औपचारिक सम्झौतामा परिणत हुन सकेन।

सन् २०२६ मा अमेरिका र इरानबीचको युद्ध चर्किएपछि क्षेत्रीय द्वन्द्व पुनः फैलिएको छ। हुथीहरूले इरानसँगको आफ्नो निकटता र क्षेत्रीय घटनाक्रमका बीच साउदी अरबमाथि आक्रमण तीव्र बनाएका छन्। साउदी अरब विश्वकै प्रमुख तेल उत्पादक मुलुकमध्ये एक हो।

त्यसैले त्यहाँका तेल प्रशोधन केन्द्र, पाइपलाइन, विमानस्थल तथा अन्य रणनीतिक पूर्वाधारमा हुने आक्रमणले विश्व बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। विशेषगरी स्ट्रेट अफ होर्मुज र लालसागर आसपासको समुद्री मार्ग प्रभावित हुँदा तेल तथा ग्यासको आपूर्ति अवरुद्ध हुने जोखिम बढ्छ।

यसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य, ढुवानी खर्च र व्यापारमा दबाब सिर्जना गर्न सक्छ। अहिलेको द्वन्द्व केवल यमन र साउदी अरबबीचको सीमित युद्ध मात्र होइन। यसले इरान, अमेरिका, इजरायल र खाडी क्षेत्रका अन्य शक्तिहरूलाई समेत जोडेको छ।

त्यसैले हुथी विद्रोहीका पछिल्ला गतिविधिले मध्यपूर्वको सुरक्षा र विश्व ऊर्जा बजार दुवैलाई थप अनिश्चित बनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top