बालेनको भ्रमण बारे भारतले के भन्यो ?गर्याे यस्तो घोषणा

४ मंसिर २०८३, शुक्रबार
Share this
689shares

४ मंसिर , काठमाण्डौ।     

Advertisement

प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने राजकीय भ्रमणबारे नेपाल सरकारले औपचारिक घोषणा गरेलगत्तै भारत सरकारले पनि बालेनको भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने भएका छन्।

भारतको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको भ्रमण मिति सार्वजनिक गर्दै उनी प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा आउन लागेको उल्लेख गरेको छ। प्रधानमन्त्री शाह आइतबार दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।

Advertisement

शाहको यो नै पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी, आगामी नोभेम्बर २३ तारिख (मङ्सिर ७ गते) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ।

वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूको समीक्षा गरिनुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा विचार आदानप्रदान हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। विज्ञप्तिमा नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनस्तरको प्रगाढ सम्बन्ध रहेको उल्लेख छ।

व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक तथा डिजिटल कनेक्टिभिटी लगायतका विविध क्षेत्रमा द्विपक्षीय सहकार्यले प्रगति हासिल गरिरहेको भारतले जनाएको छ। यसका साथै स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन (इनोभेसन) र खेलकुदजस्ता नयाँ क्षेत्रहरूमा समेत दुई देशबीच सहकार्य बढ्दै गएको उल्लेख छ।

यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको उच्च महत्त्वलाई प्रतिविम्बित गर्ने विज्ञप्तिमा जनाइएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको थियो।

शुक्रबारै बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गरिसकेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने, राष्ट्रपति मुर्मुसँग भेट गर्ने तथा विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारी रहनेछन्। परराष्ट्र सचिव अमृत राईका अनुसार भारत भ्रमण टोलीमा ३४ जना हुनेछन्।

यस्तै आइतबारदेखि हुने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायीको डेलिगेसन सहभागी हुने भएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ जना उद्योग व्यवसायीको ’बिजनेस डेलिगेसन’ नयाँ दिल्ली जाने जानकारी दिएका हुन्।

परराष्ट्र मन्त्रालयबाट प्राप्त ५२ जनाको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, महासंघकै पूर्वअध्यक्ष भवानी राणा, महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्जवल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल दिल्ली जाने टोलीमा छन्।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह बिजनेस डेलिगेसन टोलीमा सामेल छन्। नेपाल चेम्बर अफ कमर्शबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा दिल्ली जानेको सूचीमा छन्।

त्यसैगरी, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम नारायण पराजुली, नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी डेलिगेसन टोलीमा छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगी, निर्वतमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल उद्योगी व्यवसायीको टोलीबाट दिल्ली जानेको सूचीमा छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि दिल्ली जाने सूचीमा छन्।

यस्तै, नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज (नास–आइटी)का उपाध्यक्ष विभूषण विष्ट, गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे, नेपाल औषधि उत्पादक संघबाट अर्जुनकुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्ष शोभा गुरुङ दिल्ली जाँदै छन्।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल कफी व्यवसायी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे, महिला उद्यमी महासंघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठ, सचिव दिकिला शेर्पा लामा र नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ पनि सहभागी हुँदै छन्।

यस्तै, उद्योगी व्यवसायीहरू बीवाईडी गाडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंककी यमुना श्रेष्ठ, आईएमई ग्रुपका सचिन ढकाल, भाटभटेनी ग्रुपका कल्याण गुरुङसहित नितेश मालपानी, टुकप्रसाद पौडेल, जीवानाथ लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, विष्णुकुमार अग्रवाल, दीलिप अग्रवाल, सन्जय शाक्य, दिपक थापा, राजनकुमार बन भारत जाँदै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार दिल्ली जाने उद्योगी व्यवसायीले आफैँ आर्थिक दायित्व वहन गर्नुपर्नेछ। मंसिर ६ गते आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई ध्यानमा राखेर दिल्ली जाने उडान तालिका र होटल व्यवस्थापन आफैँले गर्न मन्त्रालयले उद्योगी व्यवसायीलाई आग्रह गरेको छ।

भारत भ्रमणका क्रममा निजी क्षेत्रले उद्योग, वाणिज्य, पारवहन र आपूर्तिसँग सम्बन्धित १८ वटा विषय प्राथमिकताका साथ उठाउन सुझाव दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top