१४ असोज, एजेन्सी ।
चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो । नेपालको जितमा तीव्र गतिका बलर अभिनास बोहरा नायक बने । अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए । यससंगै नेपाल क्वाटरफाइनलमा पुगेको छ ।
नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।
यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो । आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए। फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे।
घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए । माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए । बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए । उनले ३.४ ओभरमा ११ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । उनले २७ बलमा समान ३–३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे । गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे । कुशल मल्लले नटआउट ४७ रन जोडे । मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए ।
नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए । विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए ।
क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएका छन् । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ ।
क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ । एसियाडमा नेपालले सवै स्पर्धामा हार ब्यहोरिरहेको अवस्थामा क्रिकेटबाट पदकको आशा गरिएको छ ।