१५ असोज,काठमाण्डौ ।
प्रमुख चाडपर्वहरु सुरु हुनै लाग्दा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । निगमले खाना पकाउने एलपी ग्यासमा फेरि एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले शनिबार रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको छ । साविकमा एक हजार ८९५ रुपैयाँ प्रतिसिलिन्डरमा ग्यासको कारोबार भइरहेको थियो । एक महिनाको अवधिमा ग्यासको मूल्य भारी रुपमा बढाइएको यो दोस्रो पटक हो । यसअघि भदौ १५ गते निगमले २३५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढाएको थियो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ ।
यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ भाउ बढाएको छ । यसअघि भदौ १५ मा पनि निगमले पेट्रोलमा ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले मूल्य बढाएको थियो । हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर ८ रुपैयाँ) ले मूल्य बढाएको हो ।
बढेको मूल्य अनुसार अब काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ तथा डिजल र मट्टीतेलको एक सय ७९ रूपैयाँ पर्नेछ । अरु ठाउँमा भाउ फरक फरक छ । खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर २ हजार एक सय १० रूपैयाँ पर्नेछ । यसले चाडपर्वको बेला सहुलियत पाउनुपर्नेमा नागरिक थप महँगीको मारमा परेका छन् ।