१६ असोज, काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आज बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
नेपालमा सामान्यतः अक्टोबर–२ अर्थात हिजोदेखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुशार अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको छ ।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुनेछ । यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो ।