Nepal Times
Nepal Times
1.1k
Shares

ज्वाइँलाई घण्टाघरमा जागिर दिएपछि घेरिए हर्क साम्पाङ

ज्वाइँलाई  घण्टाघरमा जागिर दिएपछि घेरिए हर्क साम्पाङ

१८ असोज, विराटनगर ।
पटक पटकको विवादले स्थगित हुँदै आएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा बुधबार फेरि मेयर र कार्यपालिका सदस्यहरुबीच विवाद भएको छ । मेयर हर्क सम्पाङले पुराना कर्मचारीलाई हटाएको र आफ्ना ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरेका छन् ।

बैठकपछि मेयर हर्कले आफू औठा छाप मेयर नभएको भन्दै अरुको निर्देशन अनुशार नचल्ने र कार्यकारी अधिकार प्रयोग गर्ने बताएका छन् । कार्यपालिका वैठकमा १५ वटा एजेण्डामाथि सुरु भएको छलफलमा मेयर साम्पाङले उमेरहद देखाउँदै घण्टाघरमा १८ वर्षदेखि कार्यरत राजा सुब्बा र ८ वर्षदेखि मालीको रुपमा काम गरिरहेका प्रकाश राईलाई हटाएका छन् ।

त्यस स्थानमा ज्वाइँ अभिषेक राई र जेठान पर्ने अनुज भुजेललाई नियुक्ति दिएको वडाध्यक्षहरुको दाबी छ । बुधबारको बैठकमा उपमेयर अइन्द्रबिक्रम बेघाले बिदा गरिएका कर्मचारीलाई उपदान दिने प्रस्ताव राखेका थिए । जसअनुसार ५ देखि १० वर्षसम्म काम गरेकालाई एक महिना, १० देखि १५ वर्ष काम गरेकालाई दुई महिना र १५ देखि २० वर्ष काम गरेकाहरुलाई तीन महिनाको तलब बराबर रकम दिने प्रस्ताव थियो ।

त्यसमा वडाध्यक्षहरुले प्रश्न उठाए । एक कार्यपालिका सदस्यले सल्लाह नगरी हटाउने काम भएको बताए । उनीहरुसहित ७ जना कर्मचारीबारे सहज बाटो खोज्नुपर्ने भन्दै उनले एक वर्षका लागि ज्यालादारीमा राख्ने र गोल्डेन ह्याण्डसेक दिएर विदा गर्नुपर्ने बताएका थिए । तर मेयर सम्पाङले व्यक्तिलाई हेरेर निर्णय नगरेको बताएका थिए ।

वडाध्यक्षले पटक पटक निर्णय पुनर्विचार गर्न आग्रह गरेपनि मेयर सम्पाङले २२ जनालाई निकालेको भए पनि दुई जनाको विषयलाई मात्र किन मुद्दा बनाएको भनेर प्रश्न गरेका थिए । बैठकमा उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईले कसरी अवकाश दिएको भनेर प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीको अवकाश उमेर ५८ वर्ष तोकिएको बताए ।

त्यसअनुसार २२ जनाले अवकाश पाएको र नगरसभाले निर्णय गरेअनुसार सरसफाइका १५, चौकीदार र माली गरेर ५ जना, केही नगर प्रहरी बाहेक अरु कर्मचारी नराखेको बताएका थिए । यही विषयमा विवाद बढेपछि कार्यपालिका सदस्यहरुले मेयरले मनलाग्दी गरेको भन्दै विरोध गरेका थिए ।

त्यसपछि मेयर र कार्यपालिका सदस्यहरुले एकअर्कालाई अराजक भएको आरोप लगाएपछि कार्यपालिकाको बैठक बिथोलिएको थियो ।वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साम्पाङले वडाध्यक्षहरुले आफूलाई सिकाउन नसक्ने बताएका छन् ।

घण्टाघरमा ज्वाइँ नियुक्त गर्नुभएको हो भन्ने प्रश्नमा उनले वडा नम्बर १७ का वडाध्यक्षका श्रीमतीलाई पनि कम्युटर अधिकृत नियुक्त गरेको रेकर्ड रहेको बताएका छन् ।विवादकै बीच मेयर हर्कले नगर प्रहरी मेयरप्रति नै जवाफदेही रहेको बताउँदै यसविषयमा आफूलाई नसिकाउन चेतावनी दिए । हर्कले ०८४ मा पनि आफू मेयरमा उठ्ने भन्दै आफूलाई हराएर देखाउन पटक पटक चुनौती दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.