१८ असोज, एजेन्सी ।
भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेका छन् । भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीका अनुशार “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट आज यस्तो जानकारी दिएका हुन् ।
अधिकारीहरूका अनुसार बाढीले सडकहरू गम्भीररूपमा क्षतिग्रस्त भएका छन् भने १४ वटा पुल बगाएको छ । “अहिलेसम्म १० वटा शव फेला परेको छ र सैनिक कर्मचारीसहित ८२ जना हराइरहेका छन्”, सिक्किम राज्यका मुख्यसचिव विजय भूषण पाठकले भनेका छन् । हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ । एक सैनिकको उद्धार गरिएको थियो ।
विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको हो । विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर हिमनदीबाट विनाशकारी बाढी आउने क्रम बढ्दै गएको छ । लहोनक ताल वरपर राति साढे १ बजेको समयमा भारी वर्षा भएपछि टिस्टा नदीमा अचानक बाढी उर्लिँदा लाचेन उपत्यकामा बाढी पसेको थियो ।
भारतीय सेनाका अनुसार यतिबेला बेपत्ता सेनाहरूको खोजी कार्य जारी छ । सार्वजनिक भिडियोहरूमा सिक्किमका घरमा बाढी पसेको छ भने ठूलाठूला घरलाई बाढीमा आएको लेदोले ढाकेको छ । उत्तरी सिक्किमको लहोनक ताल वरपर एक्कासी भारी वर्ष हुँदा लाचेन उपत्यका छेउको टिस्टा नदीमा अचानक बाढी आएको थियो ।
त्यति मात्र नभएर चुंगथांग बाँधले पानी थेग्न नसकेपछि पानी छोड्नु परेको थियो । जसकारण एकैपटक नदीमा १५ देखि २० फिटको उचाइमा पानी बढेको थियो । यसरी बाढी आउँदा सिंगतामस्थित बारदांगमा राखिएका सैनिकका गाडीसँगै सैनिकलाई बाढीले बगाएको हो । कयौँ गाडी र सैनिक माटोमुनि पुरिएको हुन सक्ने आशंका गरिएको छ ।