१९ असोज, काठमाण्डौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई देशबीचको खेलका लागि साधारण पाराफिटतर्फ ३ सय रुपैयाँ र भिआईपी पाराफिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो ।
खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैँले व्यवस्थापन गरी बिक्री गर्नै बताइएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको लागि लावस ९ अक्टोबरमा नेपाल आउने र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ ।
फिफा वरियताको १८६ औं स्थानमा रहेको लावससँग १७५ औं स्थानमा रहेको नेपालको सो खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ । खेलको कमर्सियल एण्ड मिडिया राइज्ट्स सिंगापुरस्थित स्पोर्ट लाइभलाई प्रदान गरिएको छ ।
यद्यपि खेलको प्रत्यक्ष प्रसारणको टुङ्गो केही दिनमा लाग्ने जनाइएको छ । खेल असोज २५ गते दशरथ रंगशालामा हुनेछ । यसैबीच लाओसविरुद्धको खेलका लागि करिब ७४ लाख रुपैयाँ खर्च हुने जनाएको छ । एन्फाले पत्रकार सम्मेलनमा ७३ लाख ६८ हजार ४०० रुपैयाँ अनुमानित बजेट रहेको जनाएको हो ।
विश्वकप छनोटको पहिलो चरणमा नेपालले असोज २५ गते पहिलो लेगमा लाओसलाई आतिथ्यता प्रदान गर्दै छ । यसपछि नेपाल असोज ३० गते हुने दोस्रो लेगका लागि लासोस जानेछ । पहिलो लेगका लागि लाओसको टिम २२ गते नेपाल आइपुग्नेछ ।