२० असोज, काठमाण्डौ ।
दशैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ । शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो ।
सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने निर्णय भएको बताएका छन् । उनले भनेका छन्,“मन्त्रालयमा २२ गतेदेखि बुकिङ खुला गर्ने सहमति भएको छ ।
अब, व्यवस्थापनको पाटोका लागि यातायात व्यवस्था विभागसँग छलफल भइरहेको छ ।” सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य हुँदै गरेको उनले जानकारी दिए । दशैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । यसअघि यातायात व्यवसायीले भाडा बढाएपछि मात्रै दशैंका लागि अग्रिम बुकिङ खोल्नु पर्ने अडान राख्दै आएका थिए ।
यातायात व्यवस्था विभागसँग व्यवसायीहरुले अहिले बैंकको ब्याजदर बढेकोले भाडा पनि बढ्नु पर्ने र त्यसपछि मात्रै अग्रिम टिकट बुकिङ खोल्नु पर्ने बताइरहेका छन् । प्रत्येक वर्ष चैतमा भाडा समायोजन गर्ने विषयमा सरकारले निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगरिएको व्यवसायीको भनाइ छ । अहिले सो विषय कार्यान्वयन गर्नु पर्ने माग उनीहरूको छ ।
यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भए वा घटे वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा बढ्ने–घट्ने व्यवस्था छ । यसअनुसार गत साउन ३१ मा अन्तरप्रदेश भाडा समायोजन भइसकेको छ ।