२२ असोज,काठमाण्डौ ।
आजदेखि दशैंका लागि सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ ।
दशैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दशंैको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिइसकेका छन् ।
काठमाडौं उपत्यकाबाट दशैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गरिने विभागले जनाएको छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । दशैंमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् ।
अघिल्ला वर्ष समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरेको थियो । यातायात व्यवसायीले भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको भनेर ढिलाइ गेका हुन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाटै कडा अनुगमन थालिने जनाएको छ ।