६ असोज, काठमाण्डौ ।
आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको थियो ।
त्यस्तै, ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युड र ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गयो । अपराह्न ४ बजेर ३ मिनेट जाँदा पुनः ४.४ म्याग्निच्युडको परकम्प गयो भने साँझ ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निच्युड र त्यसको दुई मिनेटपछि नै ५.१ म्याग्निच्युडको लगातार दुई परकम्प गएको थियो । यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै रहेको थियो ।
आइतबार विहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एकाएक भूकम्पले हल्लायो । दशैंको बेलामा घरमा बसिरहेका धेरैलाई अत्यायो । काठमाडौं उपत्यकाका साथै धादिङ, गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लासम्म भूकम्पको धक्का महसुस भयो । भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो २०७२ कै भूकम्पको पराकम्प हो ।
१२ वैशाख २०७२ मा गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका पराकम्पमा परी झण्डै ९ हजारको मृत्यु भएको थियो भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट १२ लाख घर तथा झण्डै चार हजार सार्वजनिक संरचनामा पूर्ण वा आंशिक क्षति पुगेको थियो ।
करिव ३ हजार सांस्कृतिक तथा धार्मिक सम्पदाहरुमा असर गरेको थियो । त्यो विनाशकारी भूकम्पबाट कुल ८८१ अर्ब रुपैयाँ भन्दा बढीको क्षति तथा नोक्सानी भएको सरकारी रेकर्डमा उल्लेख छ । भूकम्प गएको ८ वर्ष भइसक्दा पनि यसको पराकम्प रोकिएको छैन ।