Nepal Times
Nepal Times
504
Shares

उपाधि जितेर फर्कियो नेपाली टोली /फेरि भारत र पाकिस्तानसँग खेल्ने

उपाधि जितेर फर्कियो नेपाली टोली /फेरि भारत र पाकिस्तानसँग खेल्ने

९ कार्तिक,काठमाण्डौ।
मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । यूएईलाई हराउँदै फाइनलमा जित निकालेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) का पदाधिकारीहरूले स्वागत गरे ।

खेलाडीहरूको स्वागतपछि टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पत्रकारहरुसँग कुरा गर्दै अब एसिया कप र विश्वकपका लागि चुनौती खडा भएको बताएका छन् । टमाटाले यु–१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने जनाए ।

भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने, ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’ उनीहरुले राम्रो मिहिनेत गरिरहेको भन्दै टमाटाले अब एसिया कप र वर्ल्डकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको बताए ।

राम्रो माइन्डसेट बनाएको भन्दै उनले क्रिकेट एसोसिएसनसँग बसेर छलफल गर्ने बताए । उनले भने, ‘अब च्यालेन्जको कुरा छ । एसिया कप खेल्दैछौं । एसिया कपको लागि राम्रो कन्ट्रीसँग इन्डियासँग, पाकिस्तानसँग च्यालेन्ज छ ।’ ‘एउटा प्लानिङ गरेको छु एक्सपोजरका लागि । वर्लडकप पनि छ । तयारीका लागि एसिया कप आको छ । ओभरअल राम्रो मान्ड सेटअप छ के–के गर्ने भन्ने कुरा । क्रिकेट एसोसिएसनसँग बसेर अगाडि बढ्छौं,’ उनले भने ।

उनले तिहार पछाडि सिनियर टिमसँग दुई–तीनवटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने बताएका छन् । आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो ।

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई । दोस्रो खेलमा बहराइनलाई र तेस्रो खेलमा साउदी अरेबियालाई हराएको थियो । प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् ।

छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन् । पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा परेको छ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.