३ कार्तिक, काठमाण्डौ ।
टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध विजयी सुरुवात गरेको छ । तर यो जितको सुखदे सुरुवात सँगसँगै नेपाली टिमलाई ठूलो धक्का लागेको छ । टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी चोटका कारण केही दिन मैदान बाहिर हुने भएका छन् । दीपेन्द्र आजको खेल अघिसम्म फिट रहेका थिए ।
उनलाई प्लेइङ ११ मा समेत समावेश गरिएको थियो । टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लाग्यो । त्यसपछि उनले खेल्न सकेनन् । दीपेन्द्रको स्थानमा हतारमा विवेक यादवलाई टीममा समावेश गरिएको थियो । घाइते भएपछि दीपेन्द्रलाई टीयु ग्राउन्डबाट मेडिसिटी अस्पताल पु¥याइएको थियो ।
अस्पतालमा स्वास्थ्य परीक्षणपछि डाक्टरहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्य परिक्षणपछि उनी वैशाखी टेकेर अस्पतालबाट टीयु ग्राउन्ड आएका थिए । विश्वकप क्वालिफायर एक हप्तामात्र चल्ने प्रतियोगिता हो । दीपेन्द्रको खुट्टा ठीक हुन केही समय लाग्ने भएकाले उनले पूरै प्रतियोगिता गुमाउने देखिएको छ ।
यस विषयमा नेपाल क्रिकेट संघले आजै औपचारिक जानकारी गराउने छ । दीपेन्द्र टीममा नहुनु नेपालका लागि निकै ठूलो क्षति हो । उनी बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा अब्बल छन् । टी–२० मा नेपालका सर्वाधिक सफल ब्याट्सम्यान हुन् उनी । पछिल्लो समय उनको ब्याटिङ फर्म उत्कृष्ट थियो ।
यसैले नेपालको लागि विश्वकप पुग्ने निकै महत्वपूर्ण प्रतियोगितामा दीपेन्द्रको चोट नेपालकै लागि निक्कै ठूलो चोट बन्न पुगेको छ । नेपालले समूह चरणमा मंगलबार मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ । ८ टिम सहभागि छनोटको फाइनल पुग्ने टिम विश्वकपमा पुग्नेछन् । फाइनल खेल कात्तिक १९ गते हुनेछ ।