Nepal Times
Nepal Times
252
Shares

रेमिट्यान्सले राख्यो कीर्तिमान,कति भित्रियो ?

रेमिट्यान्सले राख्यो कीर्तिमान,कति भित्रियो ?

२५ कार्तिक, काठमाण्डौ ।
गत असोज महिनामा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको छ । त्यसमध्ये १ खर्ब ३६ अर्ब असोजमा भित्रिएको हो ।

चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्वात्तै बढेको छ । रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो । बाह्य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ । रेमिटेन्सको बढ्दो दर र आयात बढ्न नसकेका कारण बाह्य क्षेत्रमा सुधार आएको हो । असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ ।

आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न नसकेको हो । तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ । चालु खाता तेस्रो महिना लगातार बचतमा छ । गत असारमै ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ ।

शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । विदेशी मुद्राको सञ्चिति पनि निरन्तर उकालो लागेको छ । असोजसम्म १६ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । यो रकम भदौको तुलनामा ४४ अर्ब १९ करोड रुपैयाँले बढी हो ।

राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । समष्टिगत माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि केही घटेको छ । भदौमा ८.५ प्रतिशत रहेको महँगीदर असोजमा ७.५ प्रतिशतमा झरेको छ । यो वर्ष महँगी साढे ६ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.