२७ कार्तिक, काठमाण्डौ ।
सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका राष्ट्रिय क्रिकेटर तीन जनालाई नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी–२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई प्रदेश सरकारले पाँच÷पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।
शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीनजना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन् । शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् ।
एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएका थिए । त्यही विश्व कीर्तिमानको कारण उनले एक लाख बढी पाउनेछन् । नेपालले गत कार्तिक १७ गर्ते माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।
नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ । सुदूर सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ । यसअघि यू१९ टोलीलाई विश्वकपमा पुर्याउदा र आइसिसी विश्वकप लिग २ मा जित हात पार्दा नगद पुरस्कारले सम्मान गरेको थियो ।
विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको १५ सदस्य टोलीमा दीपेन्द्र, सन्दीप जोरा र विनोद भण्डारी मात्रै थिए । नेपाली क्रिकेट टोलीलाई क्यानले ५० लाख रुपैयाँ दिने भएको छ । नेपाल सरकारलाई जनही १३ लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सिफारिस गरि सकेको छ ।