१७ मङ्सिर, एजेन्सी ।
फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले त्यहाँको दोस्रो ठूलो टापु मिन्डानाओ ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यस्तै, अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शनिबार राति ७.६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन भएको थियो ।
भूकम्प लगत्तै सुनामीको चेतावनी प्रणाली सक्रिय भएपनि पछि त्यसको खतरा टरेको बताइएको छ । यसअघि, मिन्डानाओको पूर्वी तटमा स्थानीय समय अनुसार २२ः३७ (१४ः३७ जीएमटी) मा पहिलो भूकम्प गएपछि सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टलका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च जमिनमा जान भनिएको थियो ।
भूकम्पपछि जापानमा र फिलिपिन्सको उत्तर–पूर्वी क्षेत्रमा भने ०.४ मिटर (१.३ फिट) सम्मको सुनामी छालहरू देखिएका भने थिए । फिलिपिन्स वा जापानमा क्षति वा चोटपटकको तत्काल कुनै रिपोर्ट आएको छैन । भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा, बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।
फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो । दुई टापु राष्ट्रहरू नै प्यासिफिक ’रिङ अफ फायर’ को भाग हुन् जुन प्रमुख भूकम्पीय गतिविधिको क्षेत्रमा पर्छ र त्यहाँ विश्वको सबैभन्दा सक्रिय फल्ट लाइनहरू छन् । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।