Nepal Times
Nepal Times
3
Shares

यातायातका ५ पूर्वकर्मचारी जेल चलान, ६८ करोड जरिवाना

यातायातका ५ पूर्वकर्मचारी जेल चलान, ६८ करोड जरिवाना

१९ मंसिर,काठमाण्डौ ।
राजस्व रकम हिनामिनामा अदालतबाट दोषी ठहर भएका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन लेखापाल मणिराज दाहालसहित पाँच जना पूर्व कर्मचारी पक्राउ परेका हुन् । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्वकर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी रन्जन कुमार दाहालले जानकारी दिए । विशेष अदालत काठमाण्डौले २०७९ चैत ८ गते उनीहरुलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गरेको थियो ।

तत्कालिन लेखापाल दाहालललाई ७ बर्ष ११महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवानाको फैसला सुनाएको थियो । यस्तै, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना, कटुवालललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना तथा देवराज नेपाललाई ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९÷०७० र २०७०÷०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१÷०७२, २०७२÷०७३ र २०७३÷०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरु फरार थिए । मोरङ प्रहरीले उनीहरुलाई विराटनगरबाट सोमबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी दाहालले जानकारी दिए । उनीहरुलाई कैद सजाय भुक्तानको लागि मोरङ कारागार चलान गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.