Nepal Times
Nepal Times
3
Shares

भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

२५ मंसिर,काठमाण्डौ ।
जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ । भूकम्पका कारण ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

गएको कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले धान, मकै, गहुँ र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धानसहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ । भूकम्पले जाजरकोटमा पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ रुपैयाँ बराबरका पशुपक्षीमा पनि क्षति भएको जनाएको छ ।

जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् । रुकुम पश्चिममा भएको नोक्सानीको भने तथ्याङ्क आउन बाँकी छ । दुवै जिल्लाका भूकम्प पीडितहरु चिसोको मारमा परेका छन् । भूकम्प गएको एक महिनाभन्दा लामो समय भइसक्दा पनि उनीहरु चिसो भुइँमा त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

पहिलो चरणमा एक सरो राहत बाँडे पनि त्यो पर्याप्त देखिएको छैन । एउटा कम्बलको भरमा परिवारका सबै सदस्य बस्दा समस्या भइरहेको उनीहरुको गुनासो छ । पीडितहरुले जतिसक्दो छिटो अस्थायी आवास बनाइदिन आग्रह गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.