२५ मंसिर,काठमाण्डौ ।
भारतमा नरेन्द्र मोदीको सरकार विपक्षी दललाई जसरी पनि काबुमा राख्ने रणनीतिमा छ । कहिले बोलेकै भरमा विपक्षी दलहरुका सांसदहरु पक्राउ पर्छन् त कहिले छानीछानी विपक्षी दलका नेताहरुमाथि त्यहाँको भाजपा सरकारले छापा मार्दै आएको छ । यसैबीच पछिल्लो पटक आयकर विभागले भारतीय कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीमा छापा मारेको छ ।
जसमा ३५१ करोड भारतीय रुपैयाँ बरामद भएको छ । समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिलेसम्मकै उच्च रकम हो । यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारसँग सम्बन्धित छ ।
तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेडलगायतका प्रवर्द्धकविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो । कर छली र ‘अफ द बुक’लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ देखि छापा मारिरहेका छन् ।
यसैबीच भारतमा आदिवासी समूदायबाट पहिलो पटक मुख्यमन्त्री चुनिएका छन् । छत्तीसगढको नयाँ मुख्यमन्त्री विष्णुदेव साई बनेका छन् । उनी आदिवासी समुदायबाट राज्यको पहिलो मुख्यमन्त्री भएका छन् । भारतीय पत्रिका दैनिक भास्करका अनुसार रायपुरमा बसेको व्यवस्थापिका संसद्को बैठकले मुख्यमन्त्रीमा उनको नाम अनुमोदन गरेको हो ।
साईले भोलि डिसेम्बर १३ मा मुख्यमन्त्री पदको शपथ खानेछन् । उनी कुकुरी विधानसभा सिटबाट निर्वाचित भएका हुन् । छत्तीसगढमा आदिवासी समुदायको जनसंख्या सबैभन्दा बढी छ । उनी रायगढ सिटबाट ४ पटक सांसद र प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा केन्द्रीय मन्त्री पनि भइसकेका छन् । साईलाई २०२० मा छत्तीसगढ भाजपाको अध्यक्ष बनाइएको थियो । उनी अगस्ट २०२२ सम्म यो पदमा रहे ।