७ पुष ,विराटनगर ।
मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि एक्स्पोको सुरुआत भएको थियो । पहिलो दिनजस्तै आज दोस्रो दिन पनि एक्स्पो भिजिट गर्न जानेको संख्या बाक्लो देखियो । शनिबार विदा परेकाले बालबालिकासहित अभिभावकहरु पनि शंकरपुरस्थित एक्स्पोमा पुगेका छन् ।
मोरङ व्यापार संघले यसपटकदेखि आफ्नै नामको ब्राण्डमा एक्स्पो अर्थात उद्योग व्यापार मेला आयोजना गरेको हो । संघले विस २०५३ मा कोशी महोत्सव आयोजना गरेयता विभिन्न नाममा महोत्सव तथा एक्स्पोहरू गर्दै आएको थियो ।
संघका अध्यक्ष नवीन रिजालले मुलुकको आर्थिक मेरुदण्ड रहेका उद्योगरव्यवसायको हकहित, संरक्षण एवं औद्योगिक क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि यस पटकदेखि संघकै नामबाट एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
पुस १६ समेतसम्म आयोजना हुने एक्स्पोमा स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन रविकासलाई जोड दिइएको जनाइएको छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने मेला आयोजक समितिका संयोजक एवम मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताएका छन ।
त्यस्तै स्थलमा दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने छन् । आर्कषणका रुपमा रुपमा सेल्फी जोन, किड्स जोन तथा जर्मन प्रविधिको हेंगेरीमा निर्मित स्टलहरु पशुपतिनाथ र स्वयंभु प्यागोडा शैलीमा निर्मित रहेको छ ।मेलाबाट १० करोडको कारोवार हुने अनुमान सहित चारलाख अवलोकनकर्ता आउने आयोजक मोरङ व्यापार संघको अपेक्षा रहेको छ ।
पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन आयोजकले आग्रह गरेको छ ।