Nepal Times
Nepal Times
3
Shares

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द

७ पुष,काठमाण्डौ । 

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो ।

विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको छ । साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । अघिल्लो वर्षपनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

यो सडकका १९ वटा पुलमध्ये चारवटा चार वर्ष अघि निर्माण भएका हुन् । आयोजनाले यो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम गर्दै आएको छ । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छ ।

काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने आयोजनाले जनाएको छ । तुइन खोलाको पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । यो पुल निर्माणका लागि पहाड नै काट्नुपर्ने भएपछि आजदेखि सडक बन्द गर्ने यसअघि सहमति भएको थियो ।

तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.