८ पुष ,विराटनगर ।
शुक्रबारदेखि विराटनगरमा सुरु भएको मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने एक्स्पोमा आज भने चर्चित गायिका एलिना चौहान र गायक महेश काफ्लेको सांगितिक प्रस्तुति रहने बताईएको छ ।
पुस १६ समेतसम्म आयोजना हुने एक्स्पोमा स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन र विकासलाई जोड दिइएको जनाइएको छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने मेला आयोजक समितिका संयोजक एवम मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताएका छन् ।
आर्कषणका रुपमा रुपमा सेल्फी जोन, किड्स जोन तथा जर्मन प्रविधिको हेंगेरीमा निर्मित स्टलहरु पशुपतिनाथ र स्वयंभु प्यागोडा शैलीमा निर्मित रहेको छ । मोरङ व्यापार संघले यसपटकदेखि आफ्नै नामको ब्राण्डमा एक्स्पो अर्थात उद्योग व्यापार मेला आयोजना गरेको हो ।
संघले विस २०५३ मा कोशी महोत्सव आयोजना गरेयता विभिन्न नाममा महोत्सव तथा एक्स्पोहरू गर्दै आएको थियो । संघका अध्यक्ष नवीन रिजालले मुलुकको आर्थिक मेरुदण्ड रहेका उद्योगरव्यवसायको हकहित, संरक्षण एवं औद्योगिक क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि यस पटकदेखि संघकै नामबाट एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
मेलाबाट १० करोडको कारोवार हुने अनुमान सहित चारलाख अवलोकनकर्ता आउने आयोजक मोरङ व्यापार संघको अपेक्षा रहेको छ ।पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन आयोजकले आग्रह गरेको छ ।